सत्य, निष्पक्ष र विश्वसनीय

विश्वकप फाइनलभन्दा भारत–पाकिस्तान खेलको टिकट माग बढी, ८४ लाख आवेदन

न्युज डेस्क
२०८३ कार्तिक १८, मंगलवार २१:३७

काठमाडौं, १७ कात्तिक

सन् २०२७ मा दक्षिण अफ्रिकामा आयोजना हुने आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा भारत र पाकिस्तानबीचको खेलले फाइनलभन्दा बढी दर्शकको आकर्षण पाएको छ। समूह चरणअन्तर्गत भारत र पाकिस्तानबीच हुने खेलका लागि फाइनलको तुलनामा बढी टिकट आवेदन परेको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का अनुसार आगामी अक्टोबर १० मा भारत र पाकिस्तानबीच हुने समूह चरणको खेलका लागि ८४ लाख टिकट आवेदन प्राप्त भएका छन्। जबकि नोभेम्बर २१ मा जोहानेसबर्गमा हुने विश्वकप फाइनलका लागि करिब ८० लाख आवेदन परेको छ।

भारत र पाकिस्तानबीचको खेल जोहानेसबर्गस्थित वान्डरर्स क्रिकेट मैदानमा हुनेछ। आईसीसीले सोमबार विज्ञप्ति जारी गर्दै दुवै खेलका लागि प्राप्त टिकट आवेदनको विवरण सार्वजनिक गरेको हो।

प्रतियोगितामा भारत र पाकिस्तान सुपर सेभेन चरणमा प्रवेश गरेमा दोस्रो पटक तथा दुवै टोली फाइनलमा पुगेमा तेस्रो पटक आमनेसामने हुन सक्ने सम्भावना रहेको छ। लगातार चौथो एकदिवसीय विश्वकपमा भारत र पाकिस्तान एउटै समूहमा परेका छन्।

विश्वकपमा सहभागी १२ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा अस्ट्रेलिया, भारत, पाकिस्तान, अफगानिस्तान, जिम्बाब्वे र एक छनोट टोली रहेका छन् भने समूह ‘बी’ मा न्युजिल्यान्ड, दक्षिण अफ्रिका, श्रीलंका, इंग्ल्यान्ड, बंगलादेश र एक छनोट टोली छन्।

सन् २०२७ अक्टोबर ७ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुने प्रतियोगिताका ५७ खेल दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाका १२ वटा मैदानमा खेलाइनेछन्।

आईसीसीका अनुसार आइतबारसम्म विश्वकपका लागि कुल टिकट आवेदन १२ करोड नाघेको छ। १९३ देशका करिब २८ लाख फरक समर्थक खाताबाट टिकट आवेदन प्राप्त भएका हुन्। टिकट आवेदन गर्नेमा दक्षिण अफ्रिका, बेलायत, भारत, अमेरिका र अस्ट्रेलियाका समर्थक अगाडि रहेका छन्। आयोजक राष्ट्रसहित अफ्रिकी देशका समर्थकबाट मात्रै एक करोड ४९ लाख टिकट आवेदन परेको आईसीसीले जनाएको छ।

यस विश्वकपमार्फत नामिबियाले पहिलो पटक पुरुष क्रिकेट विश्वकपका खेल आयोजना गर्नेछ। त्यस्तै, जिम्बाब्वेले भिक्टोरिया फल्समा निर्माण गरेको नयाँ क्रिकेट मैदान पनि विश्वकपका क्रममा प्रयोगमा ल्याइनेछ।

२४ वर्षपछि एकदिवसीय क्रिकेट विश्वकप अफ्रिका फर्किन लागेको हो। यसअघि सन् २००३ मा दक्षिण अफ्रिका, जिम्बाब्वे र केन्याले संयुक्त रूपमा विश्वकप आयोजना गरेका थिए। उक्त प्रतियोगिताको फाइनलमा अस्ट्रेलियाले भारतलाई १२५ रनले पराजित गर्दै उपाधि जितेको थियो। फाइनल खेल पनि जोहानेसबर्गस्थित वान्डरर्स मैदानमै भएको थियो।

त्यसैगरी, दक्षिण अफ्रिकाले सन् २००७ मा पहिलो पटक आईसीसी पुरुष टी–२० विश्वकप आयोजना गरेको थियो। उक्त प्रतियोगिताको फाइनलमा भारतले पाकिस्तानलाई पराजित गर्दै उपाधि जितेको थियो। सन् २००९ मा दक्षिण अफ्रिकाले आईसीसी च्याम्पियन्स ट्रफीसमेत आयोजना गरेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?