सत्य, निष्पक्ष र विश्वसनीय

काठमाडौंमा अवैध रूपमा बसोबास गरिरहेका पाँच विदेशी नागरिक पक्राउ, १४ थान राहदानी र आर्थिक कारोबारका डायरी बरामद

न्युज डेस्क
२०८३ कार्तिक १८, मंगलवार १४:२६

वीरगञ्ज, १७ कात्तिक

काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी गैरकानुनी रूपमा बसोबास गर्दै आएका पाँच जना विदेशी नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

सोमबार साँझ सशस्त्र प्रहरी बल, नेपालअन्तर्गत एपीएफ इन्टेलिजेन्स ब्युरो र नं. १८ गणको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका पाँचै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि अध्यागमन विभागमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

नियन्त्रणमा पर्नेहरूमा बङ्गलादेशी नागरिक मोहम्मद कुर्वान अलि, जाहिंगिर आलम, रोनित रोय चौधरी, अकम अब्ल्लाह तथा बङ्गलादेशी मूलका ब्राजिलियन नागरिक रफत मिहा रहेका छन्।

प्रहरीका अनुसार रोनित रोय चौधरी बस्दै आएको कोठामा खानतलासी गर्ने क्रममा नौ जना बङ्गलादेशी नागरिकका १४ थान राहदानी फेला परेका छन्। त्यसैगरी, ठूलो परिमाणमा आर्थिक लेनदेन भएको विवरण उल्लेख गरिएका दुई थान डायरीसमेत बरामद गरिएको छ।

यसैबीच, नियन्त्रणमा परेका जाहिंगिर आलममाथि एक जना बङ्गलादेशी नागरिकलाई अपहरण गरी बन्धक बनाएको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेको खुलेको छ। उनी २०८० चैत १३ गतेदेखि उक्त मुद्दामा अदालतमा तारिख धाउँदै आएको बताइएको छ।

पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन अध्यागमन विभागमा बुझाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?