मधेसको राजनीतिक अवस्था र आगामी दिशाबारे वीरगञ्जमा दशौँ शृङ्खलाको अन्तरक्रिया सम्पन्न
वीरगञ्ज, १७ कात्तिक
मधेसको वर्तमान राजनीतिक अवस्था, पहिचान, अधिकार र आगामी राजनीतिक दिशाबारे समीक्षा गर्दै वीरगञ्जमा ‘मधेस अबको बाटो : मधेसी राजनीतिको समीक्षा’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

‘जबसम्म सूर्य र चन्द्रमा यो धर्तीमा रहिरहन्छन्, सहिदको त्याग, तपस्या र बलिदान अमर रहिरहनेछ’ भन्ने मूल नाराका साथ सहिद सञ्जय चौधरी स्मृति प्रतिष्ठानद्वारा आयोजित दशौँ शृङ्खलाको कार्यक्रम वीरगञ्ज पब्लिक कलेजको सभाहलमा सम्पन्न भएको हो।
सहिद परिवारकी विनीता शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेसको राजनीतिक यात्रा, पहिचान, अधिकार प्राप्तिका लागि भएका आन्दोलन तथा सहिदहरूको योगदानका विषयमा व्यापक छलफल गरिएको थियो।
कार्यक्रममा पूर्वसांसद पिंकी यादव, प्राध्यापक इन्दुशेखर मिश्रा, प्राध्यापक हरेराम ठाकुर, डा. उमेश चौरसिया, रम्भा मिश्रा, अधिवक्ता आनन्द गुप्ता, पूर्वउपप्रमुख सलमा खातुन, पूर्वप्रहरी उपरीक्षक रामेश्वर यादव, हरिबाबु चौधरी र ओमप्रकाश चौधरीलगायतको सहभागिता रहेको थियो।
अन्तरक्रियामा सहभागी वक्ताहरूले मधेसको राजनीतिक पहिचान, सामाजिक अपेक्षा, संस्कार, संस्कृति तथा हकअधिकार स्थापित गर्न सहिदहरूको योगदानलाई उचित सम्मान र पहिचान दिनुपर्नेमा जोड दिए। उनीहरूले मधेसको अधिकार प्राप्तिका लागि विभिन्न समयमा भएका आन्दोलनमा ज्यान गुमाएका सहिदहरूको इतिहास र बलिदानलाई संस्थागत गर्दै नयाँ पुस्तासम्म पुर्याउनुपर्ने धारणा राखे।
वक्ताहरूले सहिदहरूको योगदानलाई स्मरणमा मात्र सीमित नराखी उनीहरूले देखेका सपना, उद्देश्य र अधिकार प्राप्तिको अभियानलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याए। साथै मधेसले हालसम्म प्राप्त गरेका उपलब्धि, विद्यमान राजनीतिक तथा सामाजिक चुनौती र आगामी दिनमा अपनाउनुपर्ने राजनीतिक दिशाबारे समेत विचार–विमर्श गरिएको थियो।
कार्यक्रमले मधेसको राजनीतिक यात्राको समीक्षा गर्दै सहिदहरूको त्याग र बलिदानको इतिहासलाई नयाँ पुस्तासम्म पुर्याउने तथा पहिचान र अधिकारका सवालमा थप बहस र संवाद अघि बढाउने उद्देश्य राखेको आयोजकले जनाएको छ।
कार्यक्रमबारे सहिद सञ्जय चौधरी स्मृति प्रतिष्ठानका संरक्षक सञ्जय यादवले जानकारी दिएका हुन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





