सत्य, निष्पक्ष र विश्वसनीय

हवाई फायर गरेर लागूऔषध कारोबारी पक्राउ

न्युज डेस्क
२०८३ कार्तिक १७, सोमबार २०:२४

सिन्धुली , १६ कात्तिक
सिन्धुलीमा प्रहरीले १ राउण्ड हवाई फायर गरेर लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको प्रहरी टोलीले सिन्धुलीको सुनकोशी गाउँपालिका–१ नेपालथोकस्थित सडकखण्डबाट लागूऔषध कारोबारीलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार भारतको जयनगरबाट सिराहा जिल्लाको माडर सीमा हुँदै काठमाडौं उपत्यकासम्म लागूऔषध ओसारपसार तथा बिक्री भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो ।

सोही क्रममा मिति २०८३ कात्तिक १६ गते नेपालथोकतर्फ मोटरसाइकलमा आउँदै गरेका एक व्यक्तिलाई शङ्का लागेर चेकजाँच गर्न खोज्दा उनी मोटरसाइकल छाडेर भाग्न थालेका थिए । त्यसपछि प्रहरीले चेतावनीस्वरूप १ राउण्ड हवाई फायर गरी उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ पर्नेमा धनुषा जिल्लाको मिथिला नगरपालिका–४ ठेगाना भएका २९ वर्षीय मन्जित योजना रहेका छन् ।

प्रहरीले उनको साथबाट १०.१६० ग्राम लागूऔषध खैरो हेरोइन, प्रदेश ३–०२–००९ प १६२२ नम्बरको मोटरसाइकल र दुई थान मोबाइल बरामद गरेको जनाएको छ ।

पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय खुर्कोट, सिन्धुलीमा बुझाइएको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?