सरकारले जनतामा निराशा मात्रै बढायो : जसपा अध्यक्ष उपेन्द्र यादव
रुपन्देही , १६ कात्तिक
जनता समाजवादी पार्टी (नेपाल) का अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले जनतालाई विभिन्न आश्वासन बाँडेर सत्तामा पुगे पनि जनतामा निराशा मात्रै बढाएको आरोप लगाएका छन् ।
अग्रगामी मोर्चाको लुम्बिनी प्रदेश समन्वय समितिले आइतबार बाँकेको नेपालगन्जमा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले मुलुकमा भ्रष्टाचार र कमिसनतन्त्र नियन्त्रण हुन नसकेको बरु झन् बढ्दै गएको दाबी गरे । महँगी दोब्बर बढेको उल्लेख गर्दै उनले दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने गरिब तथा विपन्न नागरिक सबैभन्दा बढी मारमा परेको बताए ।
यादवले सरकारी विद्यालयको शैक्षिक गुणस्तर खस्किँदै गएको, सरकारी अस्पतालमा सहज रूपमा उपचार पाउने अवस्था नरहेको र स्वास्थ्य बिमा कार्यक्रमसमेत असफल हुँदै गएको आरोप लगाए ।
‘गरिबका लागि यो सरकार साथमा छैन, सुशासनको त नामनिसान नै छैन,’ उनले टिप्पणी गरे ।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका यादवले वर्तमान सरकार विदेशी ऋणको भरमा सञ्चालन भइरहेको आरोप लगाउँदै विगतका कांग्रेस र कम्युनिस्ट नेतृत्वका सरकारकै जस्तो अवस्था अहिले पनि देखिएको बताए ।
जनताले वर्तमान सरकारबाट अपेक्षा गरेअनुसारको काम हुन नसकेको भन्दै उनले सरकारप्रति आम नागरिकको असन्तुष्टि र निराशा बढ्दै गएको दाबी गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





