नैतिक धरातल कमजोर नभएको गगन थापाको दाबी, भने– मेरो हातमा दाग छैन
काठमाडौं, १९ कार्तिक
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो नैतिकता र इमानदारीमाथि उठेका प्रश्नको खण्डन गर्दै आफू स्वच्छ र नैतिक रूपमा बलियो धरातलमा उभिएको दाबी गरेका छन्।
बिहीबार भिडियो सन्देश जारी गर्दै थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा बिचौलिया भनिएका इनम सापकोटासँग जोडेर आफ्नो चरित्रमाथि प्रश्न उठाउने र बदनाम गर्ने प्रयास भइरहेको बताएका हुन्।

‘म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको साथी, तपाईंको छोरा, तपाईंको सभापति कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन,’ उनले भने, ‘मेरो हातमा दाग छैन, मनमा कुनै कालो छैन । मेरो हात सधैँ सफा छन् । यति नभएको भए लड्ने आँट आउँथ्यो ?’
थापाले विगतमा आफूभन्दा शक्तिशाली सरकारका गलत कामको समेत विरोध गर्दै आएको स्मरण गराउँदै आफ्नै पार्टी नेतृत्वको सरकार हुँदा पनि गलत कामविरुद्ध बोल्न नछाडेको बताए।
आफूले सधैँ अन्याय र गलत कामविरुद्ध आवाज उठाउँदै आएको उल्लेख गर्दै उनले आफ्नो इमानदारी र स्वच्छतामा सम्झौता गरेको भए त्यसरी प्रश्न उठाउने आँट नै नआउने जिकिर गरे।
उनले भने, ‘आफ्नै पार्टीको सरकार हुँदा पनि गलत हुँदा बोल्न छाडिनँ। बोल्ने आँट कहाँबाट आउँछ ? कतै कमजोर भएको भए, मेरो स्वच्छता र इमानदारीमा सम्झौता गरेको भए बोल्ने आँट आउँथ्यो ? आउँदैनथ्यो।’
आफूमाथि पटक–पटक विवाद सिर्जना गरिएको र चरित्रमाथि प्रश्न उठाइएको भए पनि हरेक चुनौतीको सामना गर्दै अघि बढेको थापाको भनाइ छ।
आफूलाई अघि बढ्न जनताको शुभेच्छा र आशीर्वादसँगै आफ्नो नैतिक बलले साथ दिएको उल्लेख गर्दै उनले कांग्रेसको आधिकारिकताको विवादमा आफू स्वच्छ र सही ठाउँमा रहेको दाबी गरे।
‘यो लडाइँमा म किन बाँचेको छु भने म सफा छु, स्वच्छ छु र ठीक ठाउँमा उभिएको छु। त्यसैले ढुक्क रहनुस्,’ उनले समर्थकहरूलाई आश्वस्त पार्दै भनेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





