काठ तस्कर र सुरक्षाकर्मीबीच झडप, दुई वन कर्मचारी घाइते
झापा, २४ कार्तिक
झापाको शिवसताक्षी नगरपालिका–१० स्थित दोमुखामा अवैध काठ नियन्त्रण गर्ने क्रममा काठ तस्कर र सुरक्षाकर्मीबीच झडप हुँदा दुई जना वन कर्मचारी घाइते भएका छन्।
गएराति करिब ९ः२० बजे कनकाई माई नदीबाट सखुवा जातको २१ थान (करिब २२ क्युफिट) काठ अवैध रूपमा ओसारपसार भइरहेको सूचनाका आधारमा सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो।

सोही क्रममा १५ देखि २० जनाको समूहले सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गरेको बताइएको छ। ढुंगा प्रहारबाट वन हेरालु भोला थपलिया र वन समिति सदस्य बुद्धकुमार लिम्बू घाइते भएका छन्। घाइते दुवै जनाको उपचार भइरहेको जनाइएको छ।
झडपका बाबजुद सुरक्षाकर्मीले अवैध रूपमा ओसारपसार गर्न लागिएको काठ नियन्त्रणमा लिन सफल भएका छन्। नियन्त्रणमा लिइएको काठ गैडे सामुदायिक वनलाई बुझाइएको छ।
ढुंगा प्रहारमा संलग्न व्यक्तिहरू घटनास्थलबाट फरार रहेकाले प्रहरीले उनीहरूको खोजी गरिरहेको जनाएको छ। अवैध काठ तस्करीमा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी कार्य जारी रहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





