सत्य, निष्पक्ष र विश्वसनीय

हेटौँडामा प्रहरी सहायक हवल्दार मृत फेला, घटनास्थलमा सुसाइड नोट बरामद

न्युज डेस्क
२०८३ कार्तिक २५, मंगलवार १४:०५

हेटौँडा, २४ कार्तिक

 मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी कर्मचारी मृत फेला परेका छन्।

मंगलबार बिहान करिब ४ः३० बजे ओमनगर गेट नजिकै प्रहरी सहायक हवल्दार अर्जुन गुरुङ झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मर्निङ वाकमा निस्किएका एक व्यक्तिले गुरुङलाई झुन्डिएको अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय पशुपतिनगरमा खबर गरेका थिए। त्यसपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।

गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल स्थायी घर भएका ३५/३६ वर्षीय गुरुङ हाल लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए।

गुरुङ किन हेटौँडा पुगेका थिए भन्ने विषय भने खुल्न सकेको छैन।

प्रहरीका अनुसार घटनास्थलमा सुसाइड नोटसमेत फेला परेको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खत्रीले बताएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?