वीरगञ्जमा इनर्वा र रजतजयन्ती चोकबाट लाखौँका अवैध सामान बरामद
वीरगञ्ज, ५ मंसिर
पर्सा प्रहरीले भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएका करिब ९ लाख ७६ हजार रुपैयाँ बराबरका खाद्यान्न तथा कपडाजन्य सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मंसिर ३ गते दिउँसो करिब ३ बजे वीरगञ्ज महानगरपालिका–१६ इनर्वागाउँबाट भन्सार छली ल्याइएका ९ लाख ५३ हजार ३४५ रुपैयाँ बराबरका विभिन्न किसिमका लत्ताकपडा बरामद गरिएको हो ।

त्यसैगरी, मंसिर ४ गते बिहान करिब १० बजे वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट भन्सार छली ल्याउँदै गरेको २३ हजार ४८५ रुपैयाँ बराबरका तरकारीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
दुवै स्थानबाट गरी कुल ९ लाख ७६ हजार ८३० रुपैयाँ बराबरका मालवस्तु नियन्त्रणमा लिइएको हो ।

बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि मंसिर ४ गते वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





