सत्य, निष्पक्ष र विश्वसनीय

प्रचण्डको चेतावनी : ‘सरकारले गरिरहेको कामको मूल्य महँगो पर्नेछ’

न्युज डेस्क
२०८३ मंसिर ६, शनिबार १३:१७

काठमाडौं, ५ मंसिर।
नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई स्वागत गर्न विमानस्थलमा लाइन बसेका कर्मचारी पक्राउ गरिएकोप्रति आपत्ति जनाएका छन्।

भक्तपुरमा आयोजित राष्ट्रिय जागरण अभियानको उद्घाटन गरेर फर्किने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले सरकारले गरिरहेका गतिविधिले राम्रो सङ्केत नगरेको टिप्पणी गरे।

रुसबाट फर्किने क्रममा आफूलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीलाई पक्राउ गरिएको घटनाबारे प्रतिक्रिया दिँदै उनले भने, ‘गर्न नहुने नहुने काम सरकारले गरिरहेको छ। यो राम्रो सङ्केत होइन।’

उनले सरकारले कर्मचारी तथा पत्रकारहरूको अधिकार खोस्ने काम गरिरहेको आरोपसमेत लगाए।

प्रचण्डले बिचौलियाहरूको मोबाइलसमेत घरमा लगेर दुई दिनसम्म राखिएको भन्ने कुरा बाहिर आएको उल्लेख गर्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाए।

उनले चेतावनी दिँदै भने, ‘जे काम सरकारले गरिरहेको छ, त्यसको मूल्य सरकारलाई महँगो पर्नेछ।’

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?