सत्य, निष्पक्ष र विश्वसनीय

दैनिक नेपाल न्युज डटकमका पत्रकार निरञ्जन मिश्र पर्सा मिलन केन्द्रबाट सम्मानित

न्युज डेस्क
२०८३ मंसिर ६, शनिबार २०:४८

काठमाडौं , ५ मंसिर

दैनिक नेपाल न्युज डटकमका पत्रकार निरञ्जन मिश्र सञ्चार क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानको कदरस्वरूप सम्मानित भएका छन्। पर्सा मिलन केन्द्र, काठमाडौंले आफ्नो २५औँ पर्सा दिवस समारोहको अवसरमा पत्रकार मिश्रलाई सम्मानपत्र प्रदान गर्दै सम्मान गरेको हो।

लामो समयदेखि पर्सा जिल्लामा रहेर सञ्चार क्षेत्रको विकास, पत्रकारिताको प्रवर्द्धन तथा जिल्लाको पहिचान र गौरव अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै केन्द्रले मिश्रलाई सम्मान गरेको जनाएको छ।

वीरगञ्जस्थित माई टेलिभिजनका समाचार प्रस्तोतासमेत रहेका मिश्र प्रेस चौतारी नेपाल, पर्साका अध्यक्ष हुन्। उनले पत्रकारहरूको हकहित, पेशागत सुरक्षा तथा पत्रकारिताको विकासका लागि संगठनमार्फत निरन्तर आवाज उठाउँदै बहस र पैरवी गर्दै आएका छन्।

पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै समाजका विभिन्न विषयलाई सञ्चारमाध्यममार्फत उजागर गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका मिश्रलाई सम्मान गरिएकोमा पर्सेली सञ्चार जगतले पनि यसलाई सकारात्मक र प्रशंसनीय कदमका रूपमा लिएको छ।

त्यस्तै, लामो समयदेखि गायन, अभिनय तथा समग्र कला क्षेत्रमार्फत पर्सा जिल्लाको नाम राष्ट्रिय स्तरमा चिनाउन अतुलनीय योगदान पुर्‍याएका चर्चित कलाकार अशोक प्रधानलाई पनि सोही समारोहमा सम्मान गरिएको छ।

शनिबार काठमाडौंमा आयोजित २५औँ पर्सा दिवस समारोहमा दुवै व्यक्तित्वलाई सम्मानपत्र प्रदान गरिएको थियो। सम्मानपत्रमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा समारोहका प्रमुख अतिथि डा. पृथ्वीराज लिगल, केन्द्रका अध्यक्ष गोविन्दप्रसाद नेपाल र प्रथम उपाध्यक्ष अमर सिंह सिजापतिले हस्ताक्षर गरेका छन्।

समारोहमा काठमाडौंमा बसोबास गर्दै आएका पर्सा जिल्लाका विभिन्न क्षेत्रका व्यक्तित्व तथा पर्सावासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

पर्सा जिल्लाको पहिचान, प्रतिष्ठा र गौरव अभिवृद्धिमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको पर्सा मिलन केन्द्रको यस कदमलाई सहभागीहरूले प्रशंसनीय कार्यका रूपमा लिएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?