भारत सम्बन्धलाई परिणाममुखी बनाउने दिशामा बालेनको भ्रमण सफल : परराष्ट्रमन्त्री
काठमाडौं, ८ मंसिर
प्रधानमन्त्री बालेन शाहको दुई दिने भारतको राजकीय भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ सम्भावनासहित सकारात्मक दिशामा अघि बढाएको सरकारले विश्वास व्यक्त गरेको छ ।

भारतको राजकीय भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका प्रधानमन्त्री शाहको स्वागतका क्रममा विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले यस्तो बताएका हुन् ।
मन्त्री खनालका अनुसार भ्रमणका क्रममा नेपाल र भारतका दुवै प्रधानमन्त्रीबीच दुई देशबीचको सम्बन्धलाई थप विस्तार गर्दै परिणाममुखी बनाउने विषयमा छलफल भएको थियो ।
‘लामो समयपछि यस भ्रमणले नेपाल–भारतको सम्बन्धलाई सम्भावनायुक्त सकारात्मक लयमा फर्काएको विश्वास गरेका छौँ,’ उनले भने ।
उनले वर्तमान सरकारले नेपालको राष्ट्रिय हित प्रवर्द्धन गर्दै आर्थिक वृद्धि, विकास र समृद्धिलाई प्राथमिकतामा राखेको पनि बताए ।
मित्रराष्ट्र भारतसँग नेपालको सदियौँ पुरानो घनिष्ठ, बहुआयामिक, सहयोगात्मक तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले भ्रमण केन्द्रित रहेको उनको भनाइ थियो ।
भ्रमणबाट दुई देशका नागरिकले प्रत्यक्ष लाभ प्राप्त गर्ने गरी आपसी सहकार्य र सम्बन्धलाई थप उचाइमा पुर्याउने विश्वास सरकारले लिएको मन्त्री खनालले बताए ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




