सत्य, निष्पक्ष र विश्वसनीय

विभिन्न कार्यक्रम गरी आज गुरु नानकको जन्मजयन्ती मनाइँदै

न्युज डेस्क
२०८३ मंसिर ९, मंगलवार ०७:५८

काठमाडौँ, ८ मंसिर
शिख धर्मका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन शिख धर्मावलम्बीले गुरु नानकको जन्मजयन्ती मनाउने परम्परा रहेको छ । यस अवसरमा देश तथा विदेशका विभिन्न गुरुद्वारामा विशेष पूजाआजा, भजनकीर्तन तथा धार्मिक कार्यक्रम आयोजना गरिएका छन् ।

गुरु नानकले ईश्वर एक र सर्वशक्तिमान् रहेको तथा सबै मानव समान हुन् भन्ने महत्वपूर्ण सन्देश दिनुभएको थियो । उहाँले जातजाति, धर्म र वर्गका आधारमा हुने विभेदको विरोध गर्दै मानवता, समानता र सेवाभावलाई प्राथमिकता दिनुभएको थियो ।

गुरु नानकको जन्म सन् १४६९ अप्रिल १५ मा हाल पाकिस्तानको पञ्जाब क्षेत्रमा पर्ने तलवण्डी गाउँमा भएको थियो । उक्त स्थान अहिले ननकाना साहिबका नामले परिचित छ । उहाँ शिख धर्मका संस्थापक तथा पहिलो गुरु हुनुहुन्छ । अनुयायीहरूले उहाँलाई बाबा नानक र नानकशाहका नामले समेत सम्बोधन गर्छन् ।

उहाँद्वारा रचना गरिएको ‘जपुजी साहिब’ शिख धर्मको महत्वपूर्ण धार्मिक ग्रन्थका रूपमा परिचित छ । शिख धर्मावलम्बीहरूले यस ग्रन्थको नियमित पाठ गर्ने गर्छन् ।

जन्मजयन्तीका अवसरमा गुरुद्वाराहरूमा विशेष धार्मिक प्रवचन, कीर्तन तथा सामूहिक प्रार्थनाका कार्यक्रम आयोजना गरिन्छन् । साथै, श्रद्धालुहरूलाई सामूहिक भोजन (लङ्गर) गराउने परम्परा पनि रहेको छ । यस पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, समानता र मानव सेवाको सन्देश प्रवाह गर्ने विश्वास गरिन्छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?