जबर्जस्ती करणीको आरोपमा हेटौँडा अस्पतालका चिकित्सक पक्राउ
मकवानपुर, ८ मंसिर
१९ वर्षीया किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा हेटौँडा अस्पतालमा कार्यरत एक चिकित्सक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ३१ वर्षीय चिकित्सक प्रियम यादव रहेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उनलाई गत आइतबार राति हेटौँडा अस्पतालबाटै प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार यादव सप्तरीको विष्णुपुर गाउँपालिका–४ निवासी हुन्। उनी हाल हेटौँडा उपमहानगरपालिका–९ मा डेरा गरी बस्दै आएका थिए।
प्रहरीमा प्राप्त जानकारीअनुसार पीडित किशोरीले गत आइतबार बेलुकी करिब ८ बजे घटनाबारे प्रहरीलाई जानकारी गराएकी थिइन्। सोही सूचनाका आधारमा प्रहरीले तत्कालै कारबाही अघि बढाउँदै यादवलाई अस्पतालबाट पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका यादवलाई जिल्ला अदालत मकवानपुरबाट दुई दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




