सत्य, निष्पक्ष र विश्वसनीय

इन्टरनेट सेवा प्रदायकलाई सञ्चारमन्त्रीको चेतावनी : कानुन उल्लंघन गर्नेलाई कारबाही गर्छौं

न्युज डेस्क
२०८३ मंसिर १२, शुक्रबार ०९:२६

काठमाडौं, ११ मंसिर
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकहरूलाई सेवाको गुणस्तरमा कुनै पनि बहानामा सम्झौता नगर्न चेतावनी दिएका छन्। उनले प्रतिबद्धताअनुसार गुणस्तरीय सेवा दिन निर्देशन दिँदै गलत काम गर्ने सेवा प्रदायकलाई कारबाही गरिने स्पष्ट पारेका छन्।

दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकहरूसँगको छलफलमा मन्त्री तिमिल्सिनाले कानुन उल्लङ्घन गर्ने र सेवाको गुणस्तरमा लापरबाही गर्नेहरूलाई नियामक निकायले कारबाही गर्ने बताएका हुन्।

‘अब राम्रो काम गर्दा सजाय हुनुहुँदैन, तर नराम्रो काम गर्दा निश्चित रूपमा सजाय हुनुपर्छ,’ उनले भने, ‘तपाईंहरूले सही काम गर्दा सजाय भयो भने म साथमा उभिन्छु, तर गलत गर्नुभयो भने तपाईंहरूविरुद्ध म पनि हुन्छु, नियामक र अन्य निकाय पनि हुन्छन्।’

प्रविधिको विकाससँगै विश्व फाइभ–जीबाट सिक्स–जीतर्फ अघि बढिसकेको अवस्थामा नेपालमा अझै पनि फोन नलाग्ने र इन्टरनेट सेवा प्रभावकारी नहुने समस्या रहनु अस्वीकार्य भएको उनको भनाइ छ।

मन्त्री तिमिल्सिनाले दूरसञ्चार सेवाको वर्तमान अवस्था सुधार्न सेवा प्रदायक र नियामक निकाय दुवै जिम्मेवार हुनुपर्ने बताए। उनले सेवा प्रदायकहरूलाई आफ्नो कामको समीक्षा गर्न, नियम पालना भए–नभएको आत्ममूल्याङ्कन गर्न र कमजोरी भए तत्काल सुधार गर्न निर्देशन दिए।

उनले सेवा प्रदायकहरूलाई सरकारसँग सम्पर्कमा रहन आग्रह गर्दै पुरानो शैलीमा सम्बन्ध व्यवस्थापन गरेर गलत कामबाट उन्मुक्ति पाउने प्रवृत्ति अब स्वीकार्य नहुने चेतावनी दिए।

‘राम्रो कामका लागि सम्पर्कमा रहनुहोस्, म्यानेज गर्नका लागि होइन। त्यो युग समाप्त भइसक्यो,’ उनले भने।

मन्त्री तिमिल्सिनाले चालु वर्षलाई दूरसञ्चार क्षेत्रको रूपान्तरण वर्षका रूपमा अघि बढाउने सरकारको प्रतिबद्धता दोहोर्‍याउँदै यस क्षेत्रलाई स्वच्छ, पारदर्शी र जवाफदेही बनाउनुपर्नेमा जोड दिए।

सरकारको उद्देश्य सेवा प्रदायकलाई जरिवाना गर्ने वा जेल हाल्ने नभई उपभोक्ताले गुणस्तरीय सेवा पाउनुपर्ने रहेको उनले स्पष्ट पारे। सेवा प्रदायकले सुधारका लागि उचित विकल्प र प्रस्ताव ल्याए सरकारले आवश्यक नीतिगत तथा कानुनी सहजीकरण गर्न तयार रहेको उनको भनाइ छ।

‘सरकारले चाहेको सेवाको गुणस्तर हो। तपाईंहरू विकल्प दिनुस्, त्यसमा काम गर्न र सहयोग गर्न सरकार तयार छ। तर गलत काम अब सहेर बस्न सकिँदैन, किनभने त्यसले जनतामाथि अन्याय गरिरहेको छ,’ उनले भने।

नेपाल दूरसञ्चार प्राधिकरणलाई सेवा प्रदायकका सुझाव तथा गुनासाहरू गम्भीरतापूर्वक संकलन गर्न निर्देशन दिएको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले त्यसबारे आफूले समेत जानकारी लिने बताए।

उनले दूरसञ्चार क्षेत्रका व्यवसायीहरूलाई नकारात्मक प्रतिस्पर्धा र गलत प्रवृत्तिभन्दा रचनात्मक सहकार्यमा केन्द्रित हुन आग्रह गरे। सही काम गरेर पनि व्यवसायमा नाफा कमाउन सकिन्छ भन्ने उदाहरण दूरसञ्चार क्षेत्रले स्थापित गर्नुपर्ने उनको भनाइ थियो।

मन्त्री तिमिल्सिनाले नियम पालना गरी जिम्मेवारीपूर्वक सेवा प्रदान गर्ने सेवा प्रदायकप्रति सरकारको कुनै असन्तुष्टि नरहेको स्पष्ट पार्दै गलत गतिविधिमा संलग्न हुनेहरूलाई भने कानुनअनुसार कारबाही गरिने चेतावनी दिएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?