वीरगञ्जको मिनी क्यासिनोमा प्रहरीको मध्यराति छापा, १० नेपालीसहित १२ जना पक्राउ परेको दाबी
वीरगञ्ज, १९ मंसिर।
पर्साको वीरगञ्जस्थित एक क्यासिनोमा अनधिकृत रूपमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेल्ने तथा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा १२ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–१० लोहापट्टी चोकस्थित फर्च्युन सिटी गेमिङ क्लब प्रा.लि. (क्यासिनो) मा नेपाली नागरिकहरू प्रवेश गरी जुवा खेलिरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले छापा मारेको थियो।
प्रहरी टोलीले मंसिर १० गते राति करिब ११ बजेर ५० मिनेटको समयमा क्यासिनोमा पुगेर जुवा खेलिरहेको अवस्थामा ९ जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका निवासी ६२ वर्षीय विजय अग्रवाल, ३० वर्षीय सन्तोष कुमार यादव, २४ वर्षीय अनुराग कुमार, ४८ वर्षीय दीपक साह र ४० वर्षीय राजेश श्रेष्ठ रहेका छन्।त्यसैगरी पर्सागढी नगरपालिका निवासी २६ वर्षीय दिनेश साह, बाराको कलैया उपमहानगरपालिका निवासी ४० वर्षीय नरेश प्रसाद, काभ्रेको महाभारत गाउँपालिका निवासी ४७ वर्षीय गुन्जमान मोक्तान र सिन्धुलीको मरिण गाउँपालिका निवासी २७ वर्षीय विनोद कुमार लो पनि पक्राउ परेका छन्।
यसैगरी नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराउने तथा जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बैतडीको दोगडाकेदार गाउँपालिका निवासी ५४ वर्षीय तिलक प्रसाद भट्ट, पर्साको वीरगञ्ज महानगरपालिका निवासी ३७ वर्षीय प्रभु साह तुरहा र सिरहाको धनगढीमाई नगरपालिका निवासी ४६ वर्षीय दीपक राज पराजुली रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार पक्राउ परेका १२ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।
प्रहरीले क्यासिनोमा नेपाली नागरिकलाई अनधिकृत रूपमा प्रवेश गराई जुवा खेलाउने गतिविधिमाथि अनुसन्धान अघि बढाएको जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




