सत्य, निष्पक्ष र विश्वसनीय

प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिविहीन भएको शंकर पोखरेलको टिप्पणी, ‘भ्रमणले हामीलाई लज्जित बनायो’

न्युज डेस्क
२०८३ मंसिर १२, शुक्रबार १३:२३

काठमाडौं, ११ मंसिर
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीको हालै सम्पन्न भारत भ्रमण नेपालको राष्ट्रिय हित र सरोकारका विषयमा अपेक्षाअनुसार उपलब्धिमूलक हुन नसकेको टिप्पणी गरेका छन्।

प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणले नेपालको राष्ट्रिय स्वाभिमान, सीमा विवाद र राष्ट्रिय हितका विषयमा कुनै ठोस उपलब्धि हासिल गर्न नसकेको आरोप लगाए।

उनले प्रधानमन्त्रीको भारत भ्रमणले देशलाई नै लज्जित बनाएको टिप्पणी गरे। विगतमा राष्ट्रियताको विषयमा चर्को अभिव्यक्ति दिने प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा नेपालको सीमा विवादबारे प्रभावकारी रूपमा कुरा उठाउन नसकेको उनको भनाइ थियो।

‘प्रधानमन्त्रीको भारत भ्रमणले हामी सबैलाई लज्जित बनाएको छ। काठमाडौं महानगरपालिकाको कार्यालयमा ग्रेटर नेपालको नक्सा राखेर नेताहरूमाथि व्यङ्ग्य गर्नुहुन्थ्यो। हरेक भ्रमणमा उहाँले अर्ती–उपदेश दिनुहुन्थ्यो। अस्ति उहाँ भारत भ्रमणमा जानुभयो। नेपालका हित र सरोकारका विषयमा केही कुरा राख्न सक्नुभएन,’ पोखरेलले भने।

उनले लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायतका सीमा विवादका विषयमा भ्रमणका क्रममा छलफल नै नभएको दाबी गरे। भारतीय विदेश मन्त्रालयका प्रवक्ताले समेत ती विषय भ्रमणको एजेन्डामा नरहेको बताएको उल्लेख गर्दै उनले प्रधानमन्त्रीले राष्ट्रिय सरोकारका विषय उठाउन नसकेको आरोप लगाए।

त्यस्तै, नेपाल–भारत सम्बन्ध पुनरावलोकनका लागि एमाले नेतृत्वको सरकारका समयमा गठन गरिएको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन कार्यान्वयनको विषयमा पनि प्रधानमन्त्रीले प्रभावकारी पहल गर्न नसकेको पोखरेलको टिप्पणी थियो। भारतले उक्त प्रतिवेदन बुझ्नसमेत नमानेको अवस्थामा त्यसलाई स्वीकार गरी कार्यान्वयनमा लैजान प्रधानमन्त्रीले आग्रह गर्नुपर्ने उनको भनाइ थियो।

पोखरेलले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक हवाई रुटको विषयमा समेत भारत भ्रमणबाट ठोस सहमति हुन नसकेको बताए।

‘हिजो हवाई रुट नदिएर अड्किएको थियो, आज उडानको उचाइ कति हुने भन्ने बहसका नाममा नेपालले प्रयोग गर्न नपाउने स्थिति उत्पन्न हुन सक्छ,’ उनले भने।

यसैगरी, भारत भ्रमणका क्रममा दुई खर्ब रुपैयाँभन्दा बढी ऋण प्राप्त गर्नुलाई उपलब्धिका रूपमा प्रचार गरिएकोप्रति पनि उनले प्रश्न उठाए। विगतमा ऋणले देश डुबाएको भन्दै आलोचना गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू अहिले ऋण प्राप्तिलाई उपलब्धिका रूपमा प्रस्तुत गर्न थालेको भन्दै उनले टिप्पणी गरे।

महासचिव पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालको राष्ट्रिय हित, सीमा समस्या, हवाई रुट तथा दुई देशबीचका महत्त्वपूर्ण सरोकारका विषयमा अपेक्षित उपलब्धि हासिल हुन नसकेको निष्कर्ष प्रस्तुत गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?