आवासको टुंगो नलाग्दै सुकुमवासीलाई हट्न उर्दी, बोडेमा रित्तो थाल ठटाएर प्रदर्शन
काठमाडौं, ११ मंसिर
नदी किनारका बस्तीबाट विस्थापित गरिएका सुकुमवासीलाई सात महिनासम्म स्थायी आवासको व्यवस्था गर्न नसकेको सरकारले अहिले उनीहरू बस्दै आएको अस्थायी आश्रयस्थलसमेत खाली गर्न निर्देशन दिएपछि विरोध चर्किएको छ।
गत वैशाखमा थापाथली, गैरीगाउँ, मनोहरा लगायतका क्षेत्रबाट हटाइएका सुकुमवासीलाई काठमाडौंको नागार्जुन तथा भक्तपुरका बोडे र खरिपाटीस्थित सरकारी भवनमा अस्थायी रूपमा राखिएको थियो। तर, बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा बस्दै आएका सुकुमवासीलाई ठाउँ खाली गर्न प्रशासनले निर्देशन दिएपछि उनीहरू आक्रोशित बनेका छन्।

शुक्रबार दिउँसो २ बजेसम्म भवन खाली गर्न भक्तपुर प्रशासनले सूचना टाँसेको छ। सोही सूचनाका आधारमा बिहीबार सुरक्षाकर्मीले माइकिङ गर्दै बस्ती खाली गर्न निर्देशन दिएका थिए। त्यसको विरोधमा सुकुमवासीहरूले शुक्रबार रित्तो थाल ठटाएर प्रदर्शन गरेका छन्।
बोडेस्थित अस्थायी आश्रयस्थलमा १९ परिवारका ५९ जना बस्दै आएका छन्। उनीहरूले वैकल्पिक आवासको सुनिश्चितता नगरी सरकारले आफूहरूलाई हटाउन खोजेको भन्दै निर्णयको विरोध गरेका हुन्।
प्रशासनका अनुसार त्यहाँ बस्दै आएका १९ परिवारमध्ये सात परिवार भूमिहीन नरहेको सरकारी दाबी छ। बाँकी १२ परिवारलाई सम्बन्धित पालिकामा जग्गा उपलब्ध गराउने निस्सासमेत प्राप्त भएको प्रशासनको भनाइ छ। भूमि समस्या समाधान समितिले जग्गासम्बन्धी अभिलेख फेला पारेपछि सोही आधारमा भवन खाली गर्न सूचना जारी गरिएको प्रशासनले जनाएको छ।
तर, सुकुमवासीहरूले अभिलेखमा नाम देखिएकै आधारमा भूमिहीन नभएको निष्कर्ष निकाल्नु गलत हुने बताएका छन्। प्रत्येक परिवारको वास्तविक जग्गा, आवासीय तथा आर्थिक अवस्था बुझेर निष्पक्ष स्थलगत छानबिन गर्नुपर्ने उनीहरूको माग छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




