इनाम सापकोटाको जीवन रक्षाको माग गर्दै मानवअधिकार आयोगमा उजुरी, गैरन्यायिक हिरासत र यातना दिएको आरोप
काठमाडौं, ११ मंसिर
बिचौलियाको आरोपमा चर्चामा रहेका इनाम सापकोटाले आफूलाई गैरन्यायिक रूपमा हिरासतमा राखेर मानसिक यातना दिइएको दाबी गर्दै जीवन रक्षाको माग गरेका छन् ।
सापकोटाकी पत्नी कविता पाण्डेले राष्ट्रिय मानवअधिकार आयोगमा चार पृष्ठ लामो उजुरी दर्ता गराउँदै पतिको जीवन रक्षा र मानवअधिकारको संरक्षणका लागि पहल गर्न माग गरेकी हुन् । आयोगमा उक्त उजुरी १६४४ नम्बरमा दर्ता भएको छ ।

उजुरीमा उल्लेख भएअनुसार गत असोज १४ गते बिहान करिब १०ः३० बजे भारतको नयाँदिल्ली जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका सापकोटालाई बोर्डिङ पास लिएर अन्तिम सुरक्षा जाँचमा पुगेका बेला प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले उनका दुईवटा मोबाइल फोन खोसेर आँखामा पट्टी बाँधी अज्ञात स्थानमा लगेको सापकोटाको दाबी छ ।
उनलाई असोज १४ देखि १५ गते साँझसम्म आँखामा पट्टी बाँधेरै राखिएको र विभिन्न व्यक्तिविरुद्ध बयान दिन दबाब दिँदै मानसिक यातना दिइएको उजुरीमा उल्लेख छ ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, नेपाली कांग्रेसका सभापति गगन थापा, कांग्रेस नेता तथा व्यवसायी उमेश श्रेष्ठ, भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ, हिमालय होटलका नवीन तुलाधरलगायत व्यक्तिविरुद्ध प्रमाण र बयान दिए रिहा गरिदिने प्रलोभन तथा धम्की दिइएको सापकोटाको आरोप छ ।
बयान दिन अस्वीकार गरे आफू र परिवारलाई समेत दुःख दिने तथा लामो समय जेल बस्ने गरी झुटा मुद्दा लगाउने धम्की दिइएको उनको जिकिर छ । प्रहरीले तयार पारेको कागजमा आफूले नगरेका र नजानेका विषय समेटिएको भन्दै हस्ताक्षर गर्नसमेत अस्वीकार गरेको उनले बताएका छन् ।
त्यसपछि असोज १५ गते साँझ आँखामा पट्टी र चश्मा लगाएर जिल्ला प्रहरी परिसर भद्रकाली पुर्याई हिरासतमा राखिएको उजुरीमा उल्लेख छ । भोलिपल्ट असोज १६ गते बिहान हतकडी लगाएर दुईवटा सुटकेससहित पानीपोखरीस्थित हाइट होम्स अपार्टमेन्टमा रहेको निवासमा लगेर खानतलासी गरिएको सापकोटाको दाबी छ ।
पाँच महिनाकी छोरी, पत्नी र आफन्तको उपस्थितिमा घरका सबै कोठा खानतलासी गर्दा पुरानो ल्यापटप, फोन र केही कागजात मात्रै भेटिएको तर पछि बाहिर राखिएको सुटकेसबाट विदेशी मुद्रा निकालेर घरमै बरामद भएको देखाउँदै मुचुल्का तयार पारिएको आरोप उनले लगाएका छन् ।
त्यस्तै, प्रहरीले दुई दिनअघि नै नियन्त्रणमा लिएको आइफोनसमेत गलत तरिकाले बरामदी मुचुल्कामा समावेश गर्न खोजिएको र पत्नीलाई पहिल्यै खाली कागजमा हस्ताक्षर गराइएको उजुरीमा उल्लेख छ ।
विमानस्थलभित्रैबाट पक्राउ परेका आफूविरुद्ध विमानस्थलअगाडिको सार्वजनिक सडकमा महिलालगायत सर्वसाधारणमाथि अभद्र व्यवहार गरेको आरोपमा मुद्दा चलाइएको भन्दै उनले घटनास्थलको सीसीटीभी फुटेज र बोर्डिङ पास जाँच गर्न माग गरेका छन् ।
१३ सय अमेरिकी डलर र केही भारतीय रुपैयाँ साथमा राखेको विषयमा कानुनी व्यवस्थाअनुसार नै कारोबार गरेको दाबी गर्दागर्दै थुनामै राख्ने उद्देश्यले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दासमेत थप गरिएको उनको आरोप छ ।
यसका साथै प्रहरी नियन्त्रणमा रहेका बेला आफ्नो मोबाइल अनधिकृत व्यक्तिको पहुँचमा पुर्याएर छेडछाड गरिएको र कृत्रिम बौद्धिकता (एआई) प्रयोग गरी नक्कली कागजात तथा प्रमाण सिर्जना गरेर फसाउन खोजिएको सापकोटाले दाबी गरेका छन् ।
अनुसन्धान पूरा नहुँदै आफूलाई ‘देशकै सबैभन्दा ठूलो बिचौलिया’ र ‘फिक्सर’ जस्ता उपनाम दिएर सञ्चारमाध्यममार्फत बदनाम गराइएको तथा परिवारका सदस्यलाई समेत लाञ्छना लगाइएको उनको गुनासो छ ।
उजुरीमा संविधानको धारा २० ले सुनिश्चित गरेको न्यायसम्बन्धी हकअन्तर्गत निर्दोषिताको अनुमान र स्वच्छ सुनुवाइको अधिकार तथा धारा २८ अन्तर्गतको गोपनीयताको हक उल्लंघन भएको जिकिर गरिएको छ ।
आयोगले उजुरी अध्ययन गरेर प्रक्रिया अघि बढाउने
राष्ट्रिय मानवअधिकार आयोगका सचिव मुरारीप्रसाद खरेलले सापकोटाको परिवारका सदस्यले ल्याएको उजुरी विधिवत् रूपमा दर्ता भएको पुष्टि गरेका छन् ।
नेपाल प्रेससँग कुरा गर्दै खरेलले कार्यालय समय सकिने बेलातिर परिवारका सदस्य उजुरी लिएर आएको र अध्यक्षसमक्ष पेस गरेपछि दर्ता गरिएको बताए ।
उनका अनुसार उजुरीको विषयवस्तु आफूले अध्ययन गर्न बाँकी छ । सोमबार कार्यालय खुलेपछि उजुरी अध्ययन गरिने र मानवअधिकार उल्लंघन भएको विषय आयोगको क्षेत्राधिकारभित्र पर्ने देखिए आवश्यक प्रक्रिया अघि बढाइने उनले बताएका छन् ।
यता, उजुरीमा उल्लेख गरिएको इनाम सापकोटाकी पत्नीको मोबाइल नम्बरमा सम्पर्क गर्दा उनले यस विषयमा बोल्न अस्वीकार गरेकी छन् । उनले उक्त नम्बर आफ्नो नभएको दाबीसमेत गरेकी छन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




