काठमाडौं जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीलाई दुःख दिने आरोपमा ७ जना बिचौलिया प्रहरी नियन्त्रणमा
काठमाडौं, ११ मंसिर
काठमाडौं जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आज दिउँसो करिब २ः३० बजे जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सेवाग्राहीलाई दुःख दिएको भन्दै परेको जनगुनासोका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले नियन्त्रणमा लिएका सातै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाएको जनाएको छ ।
प्रहरीका अनुसार नियन्त्रणमा पर्नेहरूमा सिन्धुलीको सुनकोशी गाउँपालिका–२ घर भई भक्तपुरको सूर्यविनायक बस्ने ४२ वर्षीय कमल खड्का, झापाको गौरादह नगरपालिका–७ घर भई हाल काठमाडौं बस्ने ५० वर्षीय गोपालबहादुर बिष्ट रहेका छन् ।
त्यस्तै, स्याङ्जाको भीरकोट नगरपालिका–५ घर भई काठमाडौंको सानो भर्याङ बस्ने ४६ वर्षीय देवप्रसाद अर्याल, काठमाडौं महानगरपालिका–२९ अनामनगर बस्ने ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी र ललितपुरको इमाडोल घर भएका ५७ वर्षीय ओमशरण राना मगर पनि पक्राउ परेका छन् ।
यसैगरी, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ घर भएका ४८ वर्षीय रमेशप्रसाद पुडासैनी र तेह्रथुमको मेन्छयायेम गाउँपालिका–६ घर भई काठमाडौंको शंखमूल बस्ने ५७ वर्षीय स्वयम् कृष्ण निरौला पनि प्रहरी नियन्त्रणमा रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक तथा प्रवक्ता दानबहादुर थापाले जारी गरेको प्रेस विज्ञप्तिमा सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गतिविधिविरुद्ध प्राप्त जनगुनासोका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको उल्लेख छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




