त्रिभुवन विमानस्थलबाट ४ किलो थाई गाँजासहित भारतीय नागरिक पक्राउ
काठमाडौं, १२ मंसिर
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलो थाई गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
लागूऔषध नियन्त्रण ब्युरोको टोलीले विमानस्थलमा शंकास्पद व्यक्तिहरूको प्रोफाइलिङ गर्ने क्रममा लागूऔषधसहित भारतको उत्तर प्रदेश, देवगाना निवासी ३३ वर्षीय शिवकुमार चौहानलाई पक्राउ गरेको हो।

ब्युरोका अनुसार मंसिर १० गते बंगलादेश हुँदै BG-371 उडानमार्फत नेपाल आएका चौहानको चेकजाँच गर्ने क्रममा उनले ल्याएको सुटकेसभित्र लुकाइछिपाइ राखिएको अवस्थामा लागूऔषध थाई गाँजा फेला परेको थियो।
एयर ड्रायर र कुकीज बिस्कुटको बहानामा लुकाएर ल्याइएको उक्त गाँजा ४ किलोग्राम रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका चौहानको साथबाट थाई गाँजासहित एक थान राहदानी र एक थान मोबाइल फोनसमेत बरामद गरिएको छ।
बरामद लागूऔषधसहित पक्राउ परेका चौहानमाथि थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




