कर्णालीको विकासमा राजनीतिक सौदाबाजी गर्दैनौँ : रवि लामिछाने
काठमाडौं, १२ मंसिर
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कर्णालीबाट पार्टीका उम्मेदवार निर्वाचित नभए पनि कर्णालीको विकास सरकारको प्राथमिकतामा रहने बताएका छन्।
सुर्खेतमा रास्वपाले आयोजना गरेको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै लामिछानेले विकासलाई निर्वाचनको परिणामसँग जोड्न नहुने स्पष्ट पारेका हुन्।

उनले कर्णालीका जनताले रास्वपाका उम्मेदवारलाई मत दिए पनि नदिए पनि सरकारमा रहुन्जेल प्रदेशको विकासलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।
‘तपाईंले हाम्रा उम्मेदवारलाई विजय गराउनु र नगराउनुसँग कर्णालीको विकासको साइनो छैन । चाहे जीवनभर हारौँ, रास्वपा सरकारमा रहुञ्जेलसम्म कर्णालीले एक भोट पनि नदिओस्, कर्णाली रास्वपाको प्राथमिकता रहने छ,’ उनले भने।
लामिछानेले विकासका नाममा कर्णालीसँग कुनै राजनीतिक सौदाबाजी नगर्ने पनि बताए। आफ्ना उम्मेदवारलाई जिताए मात्रै पुल, सडक र अन्य विकास निर्माणका काम गर्ने आश्वासन दिएर मत माग्ने राजनीति रास्वपाले नगर्ने उनको भनाइ थियो।
उनले राजनीति निर्वाचन जित्नका लागि मात्रै नभएको उल्लेख गर्दै चुनावलाई राजनीतिको एउटा निरन्तर प्रक्रियाका रूपमा बुझ्नुपर्ने बताए।
यसैबीच, लामिछानेले कर्णालीमा रास्वपाको राजनीतिक उपस्थिति र संसदीय प्रतिनिधित्व अन्य प्रदेशको तुलनामा कमजोर रहेको स्वीकार गरेका छन्।
कर्णालीका दूरदराजसम्म पार्टीको आवाज पुर्याउन नसकेको स्वीकार गर्दै उनले आगामी दिनमा कर्णालीका मुद्दालाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
‘कर्णालीमा हाम्रो उपस्थिति अन्य ठाउँहरूको जस्तो हुन सकेन । पार्टीका रूपमा उम्मेदवारलाई जिताएर संसद् लैजाने हकमा हामी कर्णालीमा पछाडि पर्यौँ,’ उनले भने।
उनले कर्णालीको विकासलाई राजनीतिक प्रतिस्पर्धाभन्दा माथि राखेर अघि बढ्नुपर्नेमा समेत जोड दिएका छन्।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




