सत्य, निष्पक्ष र विश्वसनीय

छपकैयामा निःशुल्क आँखा परीक्षण शिविर, १५१ जनाको परीक्षण , २९ जनामा मोतियाबिन्दु भेटियो

न्युज डेस्क
२०८३ मंसिर १३, शनिबार १५:५३

वीरगञ्ज, १२ मंसिर
वीरगञ्ज महानगरपालिका–२ छपकैयामा आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा १५१ जनाले सेवा लिएका छन्। शिविरमा परीक्षण गरिएका मध्ये २९ जनामा मोतियाबिन्दुको समस्या फेला परेको छ।

छपकैया नेपाली समाजको आयोजना तथा वीरगञ्ज सामुदायिक आँखा अस्पताल र तिलगंगा आँखा अस्पताल, काठमाडौंको सहयोगमा शिविर सञ्चालन गरिएको हो।

कार्यक्रम संयोजक अजित भुजेलका अनुसार शिविरमा आएका १५१ जनाको आँखा परीक्षण गरिएको थियो। मोतियाबिन्दुको समस्या देखिएका २९ जनाको आजै निःशुल्क शल्यक्रिया गरिने वीरगञ्ज सामुदायिक आँखा अस्पतालका संयोजक महेश सिंह धामीले जानकारी दिनुभयो।

आर्थिक अभावका कारण आँखाको उपचारबाट वञ्चित नागरिकलाई लक्षित गरी शिविर आयोजना गरिएको आयोजकले जनाएको छ।

छपकैया नेपाली समाजका अध्यक्ष धिरज शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष महमद रेयाज मियाँ तेली प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा वडा सदस्यहरू अब्दुल लतिफ अन्सारी, बसिर मियाँ हजाम, संगीता थापा भुजेल, छपकैया नेपाली समाजका पदाधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सम्साद आलम, सन्नी गुप्ता, महमुदिन आलम, फैजुल्लाह मियाँलगायत स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।

यसैबीच, छपकैया नेपाली समाजले आगामी दिनमा पनि विभिन्न सामाजिक तथा जनहितकारी गतिविधिलाई निरन्तरता दिने जनाएको छ। समाजका सचिव अजित भुजेलले निःशुल्क स्वास्थ्य शिविर, रक्तदान, सरसफाइ अभियान तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सम्बन्धित संघसंस्था र सरोकारवालासँग सहकार्य गरिने बताउनुभयो।

उहाँका अनुसार स्थानीय समुदायको सुखदुःखमा साथ दिँदै स्वास्थ्य, सामाजिक एकता, सरसफाइ र जनचेतनाको क्षेत्रमा योगदान पुर्‍याउनु समाजको मुख्य उद्देश्य हो।

समाजसेवा कुनै एक दिन वा कार्यक्रमका लागि मात्र नभई निरन्तर चलिरहने अभियान भएकाले समुदायको आवश्यकता र हितलाई प्राथमिकतामा राखेर आगामी दिनमा पनि रचनात्मक कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो।

छपकैया नेपाली समाजको यस पहलले स्थानीय नागरिकलाई आफ्नै क्षेत्रमा सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर प्रदान गर्नुका साथै सामुदायिक सहकार्य र सामाजिक उत्तरदायित्वको सन्देश दिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?