सत्य, निष्पक्ष र विश्वसनीय

खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गर्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद

न्युज डेस्क
२०८३ मंसिर १३, शनिबार १६:१३

काठमाडौं, १२ मंसिर
खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री वितरण गरेको आरोपमा काठमाडौंमा आठ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका–२८ स्थित खसी बजारमा बाख्री तथा पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरेको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो।

मंसिर १२ गते दिउँसो करिब ४ बजे प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा चेकजाँच गर्दा आठ जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनीहरूको साथबाट करिब ५६७ किलोग्राम बाख्रीको मासु बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार बरामद मासु बा.६७ च ७६७० नम्बरको भ्यान र बा.२० च ६३४६ नम्बरको पिकअप गाडीमा लोड गरिरहेको अवस्थामा फेला परेको थियो।

पक्राउ पर्नेहरूमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२ घर भई काठमाडौंको टेकु बस्ने ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुको सिकोट घर भई काठमाडौंको टुकुचा बस्ने ३२ वर्षीय करण बानियाँ, ललितपुरको महालक्ष्मी नगरपालिका–५ का ५० वर्षीय मनोज थापा, धादिङको गजुरी गाउँपालिका–२ घर भई काठमाडौंको बागबजार बस्ने २६ वर्षीय सनम तामाङ रहेका छन्।

त्यसैगरी २२ वर्षीय राजु लामा, काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ का २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाको मेलुङ गाउँपालिका–१ का २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–२ घर भई काठमाडौंको मैजुबहाल बस्ने २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

पक्राउ परेका आठै जनालाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?