बारामा २३७ किलोभन्दा बढी गाँजासहित गाडी बरामद, चालक फरार
बारा, १३ मंसिर ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चेकपोस्ट नजिकबाट प्रहरीले २३७ किलो १७० ग्राम अवैध लागुऔषध गाँजासहित एउटा गाडी बरामद गरेको छ।

मंसिर १२ गते साँझ करिब ५ः४० बजे अमलेखगन्जबाट पथलैयातर्फ आउँदै गरेको बा १७ च २६३६ नम्बरको गाडीलाई शंका लागेर प्रहरीले चेकजाँच गर्न खोज्दा चालकले गाडी नरोक्दै तीव्र गतिमा भगाएका थिए।
त्यसपछि प्रहरी चौकी पथलैया र इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले गाडीलाई पछ्याएको थियो। प्रहरीको पछ्याइका क्रममा चालकले दुधौरा खोलाको पुलपारि जंगलछेउमा इन्जिन चालु अवस्थामै गाडी छाडेर फरार भएका थिए।
प्रहरी टोलीले उक्त जंगल क्षेत्रलाई घेराबन्दी गरी खोजतलास गर्दा चालक फेला पार्न सकेन। तर, चालक भागेको दिशातर्फ एउटा किप्याड मोबाइल फेला परेको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएको गाडीको पछाडिको डिक्कीमा लुकाइछिपाइ राखिएको अवस्थामा २३७ किलो १७० ग्राम गाँजा बरामद भएको हो।
बरामद गाँजासहित गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। फरार चालकको खोजी गर्नुका साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




