सत्य, निष्पक्ष र विश्वसनीय

छठघाटमा वृद्धको हत्या गरी फरार अभियुक्त प्रहरीको गोली लागेर पक्राउ

न्युज डेस्क
२०८३ मंसिर १४, आईतवार ०८:४०

जनकपुरधाम, १३ मंसिर
धनुषामा छठघाटमा पूजासामग्री रुङ्न बसेका ६० वर्षीय रामजतन यादवको हत्या गरी फरार भएका अभियुक्त प्रहरीको गोली लागेर पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धनुषाको शहीदनगर नगरपालिका–२ निवासी ३० वर्षीय जयकुमार यादव रहेका छन्। उनी बालक दास नामले समेत चिनिन्छन्। भारततर्फ भाग्न खोजेपछि प्रहरीले गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गत कात्तिक २९ गते शहीदनगर नगरपालिका–२ स्थित धनी पोखरीमा छठघाट बनाएर पूजासामग्रीको सुरक्षा गर्न बसेका रामजतन यादव भोलिपल्ट बिहान करिब ६ बजे मृत अवस्थामा फेला परेका थिए।
घटनास्थलमा रगतका दाग तथा धारिलो हतियार फेला परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा पुरानो रिसइबीका कारण जयकुमार यादवले कस्सीले रामजतनको अनुहारमा प्रहार गरी हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?