सत्य, निष्पक्ष र विश्वसनीय

विश्वकप छनोट प्लेअफका लागि सन्दीपको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा

न्युज डेस्क
२०८३ मंसिर १४, आईतवार ०८:५७

काठमाडौं, १३ मंसिर
आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफका लागि नेपाल क्रिकेट संघ (क्यान) ले १५ सदस्यीय राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ।

क्यानले शनिबार सन्दीप लामिछानेको कप्तानीमा विश्वकप छनोट प्लेअफ खेल्ने नेपाली टोली सार्वजनिक गरेको हो। घोषित टोलीमा अनुभवी खेलाडीसहित नयाँ खेलाडीलाई समेत समेटिएको छ।

टोलीमा आसिफ शेख, अर्जुन कुमाल, इशान पाण्डे, देव खनाल, कुशल भुर्तेल, राशिद खान, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललितनारायण राजवंशी र अभिशेष गौतम रहेका छन्।

राइजिङ स्टार्स एसिया कपमा पाकिस्तान ‘ए’ विरुद्ध खेल्दै लिस्ट ‘ए’ क्रिकेटमा डेब्यू गरेका अभिशेष गौतमले पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेट खेल्ने अवसर पाउने सम्भावना छ।

यसैबीच, विश्वकप छनोट प्लेअफमा सहभागी हुन विदेशी टोलीहरू नेपाल आउने क्रम सुरु भएको छ। युगान्डा र इटालीका टोली नेपाल आइपुगेका छन् भने नामिबियाको टोली नेपालका लागि प्रस्थान गरिसकेको छ। जर्सीको टोली पनि चाँडै नेपाल आउने तयारीमा रहेको छ।

आगामी डिसेम्बर ४ देखि २१ तारिखसम्म सञ्चालन हुने विश्वकप छनोट प्लेअफमा नेपालसहित आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप यात्राको सम्भावना कायम राख्ने लक्ष्यसहित नेपाली टोली मैदानमा उत्रनेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?