वीरगन्जमा मोहरम पर्व शान्तिपूर्ण बनाउन प्रशासनको तयारी, आयोजक संस्थाको आधिकारिक पत्र अनिवार्य दर्ता गर्न निर्देशन
वीरगन्ज, १० असार
मुस्लिम धर्मावलम्बीहरूको आगामी चाड दाहा मोहरम पर्वलाई शान्तिपूर्ण, मर्यादित तथा धार्मिक सद्भावका साथ सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय पर्सामा सर्वपक्षीय बैठक सम्पन्न भएको छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बुधबार बसेको बैठकमा पर्वको सुरक्षा, व्यवस्थापन तथा आयोजक पक्षको जिम्मेवारीका विषयमा विस्तृत छलफल भएको थियो।

बैठकमा हिन्दु धार्मिक अगुवा रञ्जीत शाहले हनुमान जयन्तीको उदाहरण प्रस्तुत गर्दै कार्यक्रम सञ्चालन गर्ने संस्थाले आधिकारिक रूपमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने र सम्पूर्ण सुरक्षा तथा व्यवस्थापकीय जिम्मेवारी पनि आयोजक संस्थाले नै वहन गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले मोहरम पर्वका कार्यक्रम सञ्चालन गर्ने संस्थाको आधिकारिक पत्र अनिवार्य रूपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता हुनुपर्ने अडान व्यक्त गर्नुभयो।
शाहको सुझावलाई गम्भीरतापूर्वक लिँदै प्रमुख जिल्ला अधिकारी दाहालले मुस्लिम समाजका प्रतिनिधिहरूलाई बिहीबारभित्र आयोजक संस्थाको आधिकारिक पत्र जिल्ला प्रशासन कार्यालयमा दर्ता गराउन निर्देशन दिनुभयो। उहाँले पत्र प्राप्त भएपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर मोहरम पर्वको अन्तिम रुट तथा विस्तृत सुरक्षा योजना तय गरिने जानकारी दिनुभयो।
यसैबीच, मोहरम पर्वलाई अनुशासित र सद्भावपूर्ण वातावरणमा सम्पन्न गर्न प्रशासनले ९ बुँदे आचारसंहिता जारी गरेको छ। आचारसंहिताअनुसार र्याली तथा शोभायात्रा प्रशासनले तोकेको रुट, मिति र समयअनुसार मात्र सञ्चालन गर्नुपर्नेछ। र्यालीका क्रममा कुनै पनि प्रकारका हातहतियार वा भाँठाको प्रदर्शन गर्न पाइने छैन भने उच्च ध्वनि उत्पन्न गर्ने उपकरणको प्रयोगमा पनि रोक लगाइएको छ।
त्यस्तै, अन्य धार्मिक समुदायको भावना र सामाजिक सद्भावमा असर पुग्ने गतिविधि गर्न नपाइने, र्यालीको नेतृत्व गर्ने व्यक्तिले आफ्नो सम्पूर्ण विवरण एक दिनअघि प्रशासनलाई उपलब्ध गराउनुपर्ने तथा धार्मिक सहिष्णुतामा खलल पुग्ने सामग्री, झण्डा वा विवादास्पद चिन्ह प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ।
सामाजिक सञ्जालमार्फत दुई समुदायबीच वैमनस्यता वा भ्रम फैलाउने खालका पोस्ट, तस्बिर तथा भिडियो शेयर नगर्न पनि प्रशासनले आग्रह गरेको छ।
पर्व अवधिभर सुरक्षा व्यवस्थापन र समन्वयका लागि मुस्लिम समुदायको तर्फबाट महबुब अली (शेरु आलम) र हिन्दु समुदायको तर्फबाट रञ्जीत शाहलाई संयोजक तोकिएको छ। उनीहरूले सुरक्षा निकायसँग प्रत्यक्ष समन्वय गरी आवश्यक व्यवस्थापनमा सहकार्य गर्नेछन्।
बैठकमा हिन्दु पत्रकार सङ्घका अध्यक्ष राजन रौनियार, मौलाना अली अकबर मदनी, कृष्णकुमार साह, ओमबाबु यादव, एस्मुहीन अन्सारी, अनवर हुसेन, शाशिकपुर मियाँलगायत विभिन्न धार्मिक तथा सामाजिक क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
बैठकको अन्त्यमा उपस्थित सबै पक्षले वीरगन्जको धार्मिक तथा सामाजिक सहिष्णुतालाई अक्षुण्ण राख्दै मोहरम पर्वलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन्।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




