प्रधानमन्त्री बालेनलाई गोली हान्ने चेतावनी दिएका दुई किशोर पक्राउ
काठमाडौं, १५ असार
प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहलाई गोली प्रहार गरेर हत्या गर्ने भन्दै पेस्तोल बोकेका दुई जना किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको मुखियापट्टीका कमन यादव र सुधिर मुखिया छन् । जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले यादव र मुखियाबाट एक थान पेस्तोल र दुई राउण्ड गोली बरामद गरेको छ ।
धनुषाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक रुपेश खड्काका अनुसार यादव र मुखियाले नशाको सुरमा जथभावी बोल्दै हिँडेको थाहा पाएपछि पक्राउ गरिएको हो ।
उनले लोकान्तरसँग भने, ‘यी दुई जना मदिरा र लागूऔषधको नशामा थिए, जथाभावी बोल्दै हिँडेका थिए । हामीले पक्राउ गर्यौं ।’
एउटा भिडियोमा यादव र मुखियाले प्रधानमन्त्री ‘बालेनले गाउँ चम्काइदिन्छु भनेर भोट हालेको तर केही गरेन’ भन्दै गोली हान्ने योजनामा रहेको बताएका छन् । तर, उनीहरूको बोली लठ्ठीएको भिडियोमा प्रस्ट देखिन्छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




