बजेट संशोधनको मागमा मधेश प्रदेशसभा पुनः अवरुद्ध, प्रतिपक्षको अडान कायम
जनकपुरधाम, १८ असार
बजेट संशोधनको माग गर्दै प्रमुख प्रतिपक्षी दलहरूले बिहीबार पनि मधेश प्रदेशसभा बैठक अवरुद्ध गरेका छन्। प्रमुख प्रतिपक्षी जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीले सदन सञ्चालन हुन नदिएपछि बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो।
बैठकको सुरुमै जनमत पार्टीका सांसद संजयकुमार यादवले सरकारले एक करोड रुपैयाँका टुक्रे योजनामा आधारित बजेट ल्याएर संघीयताप्रति जनतामा वितृष्णा पैदा गर्न खोजेको आरोप लगाए। उनले बजेट संशोधन नभएसम्म प्रतिपक्षी दुवै दलले सदन चल्न नदिने स्पष्ट अडान दोहोर्याए।
त्यस्तै, जसपा नेपालका सांसद उपेन्द्र महतोले बजेट संशोधन गर्नुपर्ने वा त्यससम्बन्धी छानबिन समिति गठन गरिएपछि मात्र सदन सञ्चालन हुन दिने बताए।
प्रतिपक्षी दलहरूको अवरोधपछि सभामुख रामअशिष यादवले अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित भएको घोषणा गरेका छन्।
यसअघि बुधबार पनि बजेटमाथिको छलफलका लागि बोलाइएको प्रदेशसभा बैठक प्रतिपक्षी दलहरूको अवरोधका कारण प्रभावित भएको थियो। १० मिनेटका लागि स्थगित गरिएको बैठक त्यसपछि पुनः सञ्चालन हुन सकेको थिएन।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




