सत्य, निष्पक्ष र विश्वसनीय

डडेलधुरामा बोलेरो जिप दुर्घटना, दुईको मृत्यु, तीन घाइते

न्युज डेस्क
२०८३ श्रावण २, शनिबार ०८:०३

धनगढी, २ साउन
डडेलधुराको अमरगढी नगरपालिका–७ खसरेखानमा शनिबार बिहान बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १८५० नम्बरको बोलेरो जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ।

दुर्घटनामा दार्चुलाको अपिहिमाल गाउँपालिका–१ निवासी ४५ वर्षीय सुगन लोथ्याल र सोही ठाउँका २८ वर्षीय हनु लोथ्यालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका सूचना अधिकारी प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिनुभयो।

दुर्घटनामा दार्चुलाको मार्मा गाउँपालिका निवासी ५० वर्षीय अमरसिंह ठगुन्ना, अपिहिमाल गाउँपालिका–१ की ३५ वर्षीया सरस्वती लोथ्याल तथा जिप चालक बैतडीको डिलासैनी गाउँपालिका–२ निवासी अमृत घरेडी घाइते भएका छन्। उनीहरूको डडेलधुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?