सत्य, निष्पक्ष र विश्वसनीय

मनसुन जोखिम न्यूनीकरणमा वीरगन्ज महानगर सक्रिय, आकस्मिक बैठकबाट पूर्वतयारीका महत्त्वपूर्ण निर्णय

न्युज डेस्क
२०८३ श्रावण २, शनिबार २१:२२

वीरगन्ज, २ साउन
मनसुनको सुरुवातसँगै आउन सक्ने सम्भावित प्राकृतिक विपद् र त्यसको पूर्वतयारीलाई ध्यानमा राख्दै वीरगन्ज महानगरपालिकाले आकस्मिक बैठक गरी जोखिम न्यूनीकरणका लागि विभिन्न महत्त्वपूर्ण निर्णय गरेको छ।

कार्यवाहक प्रमुख इम्तियाज आलमको अध्यक्षतामा शनिबार बसेको नगर विपद् व्यवस्थापन मूल समितिको बैठकले मनसुन पूर्वतयारी, अनुगमन, स्वास्थ्य सेवा व्यवस्थापन तथा वडा कार्यालयहरूलाई तयारी अवस्थामा राख्ने विषयमा छलफल गर्दै आवश्यक निर्णयहरू गरेको हो।

बैठकले मनसुन सक्रिय भइसकेकाले सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक स्रोत–साधन, पूर्वानुमान प्रणाली तथा पूर्वतयारीलाई चुस्त राख्ने निर्णय गरेको छ। साथै मौसम पूर्वानुमान र पूर्वसूचना प्रणालीसँग निरन्तर समन्वय गर्दै तयारीलाई थप प्रभावकारी बनाइने सहमति भएको छ।

महानगर क्षेत्रका केही स्थानमा मनसुनका कारण समस्या देखिन थालेपछि तत्काल अनुगमन टोली परिचालन गर्ने निर्णयसमेत गरिएको छ। उक्त टोलीले प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरी समस्या समाधानका लागि आवश्यक पहल गर्ने तथा सम्भावित जोखिमको आकलन गर्दै राहत वितरणको पूर्वतयारी गर्नेछ।

यस्तै, विपद्को समयमा स्वास्थ्य क्षेत्रमा आउन सक्ने चुनौतीलाई मध्यनजर गर्दै आवश्यक औषधि, स्वास्थ्य सामग्री र स्वास्थ्य सेवाको भरपर्दो व्यवस्थापन गर्ने निर्णय गरिएको छ। सम्भावित महामारी तथा स्वास्थ्य समस्याको सामना गर्न सम्पूर्ण स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्ने र आवश्यक निर्देशन तथा पत्राचार गर्ने निर्णय पनि बैठकले गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?