महिला उद्यमशीलतालाई टेवा दिने २२औँ समर फेयर वीरगञ्जमा सम्पन्न
वीरगञ्ज, २ साउन
महिला सशक्तीकरण तथा साना एवं घरेलु उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले विमेन्स क्रिएशन्स क्लबद्वारा आयोजित २२औँ समर फेयर प्रदर्शनी शनिबार वीरगञ्जस्थित होटल सिद्धार्थ दियालोमा भव्य रूपमा सम्पन्न भएको छ।

क्लबकी अध्यक्ष रुपा अग्रवालको अध्यक्षतामा आयोजित कार्यक्रममा वीरगञ्जस्थित भारतीय महावाणिज्यदूतावासका महावाणिज्यदूत देबिसहाय मीना प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा समाजसेवी, उद्योगी–व्यवसायी, सरकारी अधिकारी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रदर्शनीमा नेपालका विभिन्न जिल्लासँगै भारतबाट आएका व्यवसायीहरूले हस्तकला, रेडिमेड तथा डिजाइनर परिधान, गृह सजावटका सामग्री, सौन्दर्य सामग्री, खाद्य परिकार, ज्वेलरी तथा घरेलु उत्पादनका आकर्षक स्टलहरू राखेका थिए। प्रदर्शनी अवलोकन गर्न सर्वसाधारणको उल्लेखनीय भीड लागेको आयोजकले जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि देबिसहाय मीनाले यस्ता प्रदर्शनीले महिला उद्यमशीलताको विकास, नेपाल–भारतबीचको व्यापारिक तथा सांस्कृतिक सम्बन्ध सुदृढीकरण तथा महिलालाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।

क्लबकी सदस्य नूतन सरावगीले विमेन्स क्रिएशन्स क्लबले विगत २२ वर्षदेखि महिला उद्यमीलाई आफ्नो उत्पादन बजारसम्म पुर्याउने अवसर प्रदान गर्दै आएको बताइन्। उनले स्थानीय उत्पादनको प्रवर्द्धन, महिला उद्यमीको क्षमता अभिवृद्धि तथा आर्थिक सशक्तीकरणका लागि क्लब निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरिन्।
आयोजकका अनुसार प्रदर्शनीले स्थानीय तथा भारतीय व्यवसायीबीच व्यापारिक सम्बन्ध विस्तार, महिला उद्यमीको उत्पादनको बजारीकरण तथा घरेलु उद्योगको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ। सांस्कृतिक प्रस्तुतिसहित सम्पन्न कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





