सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा दुई जना पक्राउ, अन्यको खोजी जारी
काठमाडौं, २ साउन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की नेतृ तथा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा नेपाल प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
सांसद ओलीले आफूले साइबर ब्युरोमा दर्ता गराएको उजुरीका आधारमा दुई जनालाई पक्राउ गरिएको जानकारी दिएकी हुन्। शनिबार चितवनबाट पक्राउ परेका दुवै जना पुरुष रहेको र अन्य आरोपितहरूको खोजी कार्य जारी रहेको साइबर ब्युरोले जनाएको छ।
सामाजिक सञ्जालमार्फत चरित्रहत्या गर्ने, निरन्तर गालीगलौज, धम्की दिने तथा घृणास्पद अभिव्यक्ति फैलाएको आरोपमा ओलीले शुक्रबार साइबर ब्युरोमा उजुरी दर्ता गराएकी थिइन्। उजुरी दर्तापछि उनले आरोपितहरूको तस्बिरसमेत सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन्।
पक्राउ परेकामाथि आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिँदै ओलीले असहमति राख्नु, आलोचनात्मक टिप्पणी गर्नु वा फरक विचार व्यक्त गर्नु लोकतान्त्रिक समाजको स्वाभाविक र स्वागतयोग्य पक्ष भए पनि कसैको चरित्रहत्या गर्ने, गालीगलौज गर्ने, धम्की दिने तथा घृणास्पद अभिव्यक्ति फैलाउने कार्य कुनै पनि अवस्थामा स्वीकार्य नहुने बताइन्।
साइबर अपराधविरुद्ध कारबाही प्रक्रिया अघि बढाएकोमा उनले साइबर ब्युरो र नेपाल प्रहरीलाई धन्यवादसमेत व्यक्त गरेकी छन्। यसअघि पनि यस्तै प्रकृतिको उजुरीका आधारमा साइबर ब्युरोले एक जनालाई पक्राउ गरेको थियो।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





