धनुषामा खैरो हेरोइन र सर्टगनको गोलीसहित २० वर्षीय युवक पक्राउ
जनकपुरधाम , २ साउन
धनुषाको गणेशमान चारनाथ नगरपालिका–३ श्रीरामपुरबाट प्रहरीले लागुऔषध (खैरो हेरोइन) र सर्टगनको गोलीसहित एक युवकलाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीको नेतृत्व तथा इलाका प्रहरी कार्यालय भरतपुरको संयुक्त टोलीले विशेष सूचनाका आधारमा शुक्रबार साँझ करिब ७ बजे स्थानीय २० वर्षीय मुकेश दासको घरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा घरको छानोको बलोमा कालो प्लास्टिकमा लुकाएर राखिएको सर्टगनको तीन राउन्ड गोली तथा उनले लगाएको ट्र्याकसुटको पाइन्टको खल्तीबाट प्लास्टिकसहित ०.१४० ग्राम खैरो हेरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी मधुसुदन न्योपानेले जानकारी दिएका छन्।
प्रहरीले बरामद सामग्रीसहित मुकेश दासलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय ढल्केबरमा राखेर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





