सत्य, निष्पक्ष र विश्वसनीय

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त – प्रभु साह

न्युज डेस्क
२०८३ श्रावण २, शनिबार १६:०४

काठमाडौं , २ साउन
आम जनता पार्टी (आजपा) ले देशको वर्तमान आर्थिक अवस्था अत्यन्तै निराशाजनक रहेको र वर्तमान सरकार हरेक क्षेत्रमा पूर्ण रूपमा असफल भएको निष्कर्ष निकालेको छ । आजपा प्रवक्ता सुभाष साहद्वारा आज जारी प्रेस वक्तव्यमा सरकारको अपरिपक्व कार्यशैलीका कारण मुलुक गम्भीर आर्थिक संकट र ऋणको दुष्चक्रमा फस्दै गएको दाबी गरिएको छ ।

विज्ञप्तिमा आर्थिक वर्ष २०८२ / ०८३ मा लक्ष्यको तुलनामा निकै कम राजस्व असुली भएको उल्लेख गरिएको छ भने राजस्व वृद्धिदर विगतका वर्षहरूको तुलनामा न्यूनतम विन्दुमा खुम्चिएको बताइएको छ । विकास निर्माणका लागि विनियोजन गरिएको कुल पूँजीगत बजेटको करिब आधा मात्र खर्च हुनुले राज्य संयन्त्रको कमजोरी र न्यून कार्यक्षमता उदाङ्गो पारेको आजपाको ठहर छ ।

देशको सार्वजनिक ऋण तीव्र रूपमा बढेर कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को करिब ४५ प्रतिशत पुगिसकेको विज्ञप्तिमा उल्लेख छ । संकलित राजस्व र वैदेशिक सहायताले चालू खर्च समेत धान्न नसकेर ऋणको सावाँ–ब्याझ तिर्नकै लागि थप ऋण लिनुपर्ने अवस्था सिर्जना भएको तर्फ पार्टीले सचेत गराएको छ ।

आर्थिक वर्ष २०८२ /८३ को आर्थिक वृद्धिदर प्रक्षेपण गरिएको ३.८५ प्रतिशत समेत हासिल हुन नसकेको र उपभोक्ता मुद्रास्फीति ५.२२ प्रतिशत पुगेर बजार मूल्य नियन्त्रण बाहिर गएको आजपाले जनाएको छ । बैंकिङ क्षेत्रमा निक्षेप संकलन बढे पनि निजी क्षेत्रतर्फ कर्जा प्रवाह केवल ६.२ प्रतिशत मात्र हुनु र प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता गत वर्षको तुलनामा २८ प्रतिशतले घट्नुले देशमा लगानीको वातावरण ध्वस्त भएको पुष्टि गर्ने वक्तव्यमा उल्लेख छ ।

न्यून मूल्याङ्कनमार्फत पुँजी पलायन भइरहेको र सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी फितलो नियमनका कारण वित्तीय कारबाही कार्यदलले नेपाललाई सन् २०२६ को जुनसम्म ‘ग्रे लिस्ट’ (निगरानी सूची) मा राख्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ । यसले नेपाली बैंकिङ क्षेत्रको अन्तर्राष्ट्रिय कारोबार महँगो र जटिल बन्ने खतरा बढाएको छ ।

सरकारले सुरुमा सुशासन, डिजिटल पारदर्शिता र योग्यता प्रणालीका ठूला कुरा गरे पनि व्यवहारमा आफ्ना नजिकका मानिसहरूलाई मात्र नियुक्ति दिएर नाराको धज्जी उडाएको आरोप लगाइएको छ । मन्त्रालयको संख्या घटाएको प्रचार गरेर सल्लाहकार र स्वकीय सचिवालयको भीड बढाउँदै फजुल खर्च कायमै राखिएको र सरकारले गरेका अधिकांश राजनीतिक निर्णयहरू अदालती आदेशबाट स्थगित वा बदर हुनुले शासकीय अपरिपक्वता झल्काउने पार्टीको भनाइ छ ।

‘जेन जी’ आन्दोलनको रापतापमा बनेको र दुई–तिहाइ बहुमत पाएको वर्तमान सरकार यति छोटो अवधिमै पूर्ण रूपमा अलोकप्रिय बनेको आजपाले दाबी गरेको छ । आर्थिक वर्ष २०८२ / ८३ को कार्यकाल वित्तीय कार्यसम्पादनका हिसाबले इतिहासकै सबैभन्दा खराब वर्ष साबित भएको निष्कर्ष निकाल्दै आजपाले दलहरूबीच न्यूनतम राजनीतिक सहमति कायम गरी बेरोजगारी, गरिबी र जनजीविकाका कार्यक्रमहरूमा बेलैमा ध्यान दिन सरकारसँग आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?