प्रधानमन्त्री र रास्वपा सभापतिबीच मन्त्री हेरफेर र पार्टी मनोनयनमा सहमति जुटेन
काठमाडौं, २ साउन
प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच मन्त्री हेरफेर तथा पार्टी पदाधिकारी मनोनयनको विषयमा भएको छलफल निष्कर्षविहीन बनेको छ।
गत असार २८ गते करिब चार घण्टासम्म चलेको भेटवार्तामा प्रधानमन्त्री शाहले केही मन्त्रीको कार्यसम्पादनको मूल्यांकनका आधारमा मन्त्रिपरिषद् हेरफेर गर्नुपर्ने प्रस्ताव राखेका थिए। त्यसको जवाफमा सभापति लामिछानेले प्रधानमन्त्री सचिवालयका केही सदस्यमा समेत परिवर्तन आवश्यक रहेको धारणा राखेको स्रोतले जनाएको छ।
छलफलका क्रममा दुवै पक्षले आ–आफ्ना असन्तुष्टि व्यक्त गरे पनि कुनै ठोस सहमति हुन सकेन।
रास्वपाका नेताहरूका अनुसार सरकारलाई पाँच वर्षसम्म निरन्तरता दिने विषयमा पार्टी स्पष्ट रहेको छ। यद्यपि कार्यसम्पादनका आधारमा मन्त्री परिवर्तन हुन सक्ने सम्भावना भने खुला राखिएको छ। सरकारको नेतृत्व परिवर्तनबारे भने हालसम्म कुनै निर्णय नभएको उनीहरूको भनाइ छ।
भेटवार्तामा सरकारको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने, बजारमा फैलिएका विभिन्न हल्ला र भ्रम चिर्ने तथा सुकुमवासी समस्याको समाधानलाई तीव्रता दिने विषयमा समेत छलफल भएको बताइएको छ।
यसैगरी, रास्वपाको प्रथम महाधिवेशनपछि मनोनयन गर्न बाँकी रहेका पदाधिकारी, सचिवालय सदस्य तथा केन्द्रीय सदस्य चयनको विषयमा पनि निर्णय हुन सकेको छैन। पार्टी नेतृत्वले समावेशिता, सन्तुलन र आवश्यक आन्तरिक तयारी पूरा भएपछि मात्र मनोनयन प्रक्रिया अघि बढाइने जनाएको छ।
पार्टीभित्रका संगठनात्मक विषय र सरकार सञ्चालनसँग सम्बन्धित मुद्दामा थप छलफल जारी रहने र आवश्यक निर्णय उपयुक्त समयमा गरिने रास्वपा स्रोतले जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





