एमबीएसको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै बाहिरियो
काठमाडौं, १० साउन
त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्नातकोत्तर तह (एमबीएस) प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै बाहिरिएको घटनाले विश्वविद्यालयमा हलचल मच्चाएको छ।
बिहीबार भएको उक्त घटनालाई त्रिविले गम्भीर सुरक्षा कमजोरी र लापरबाहीका रूपमा लिँदै छानबिन प्रक्रिया अघि बढाएको जनाएको छ। प्रश्नपत्र कसरी र कहाँबाट बाहिरियो भन्ने विषयमा अनुसन्धान भइरहेको विश्वविद्यालय स्रोतले जनाएको छ।

घटनाको गम्भीरतालाई मध्यनजर गर्दै त्रिविले शनिबार बिहान आकस्मिक बैठक बोलाएको छ। बैठकमा प्रश्नपत्र चुहावटको कारण, जिम्मेवार पक्षको पहिचान तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन अपनाइने सुरक्षा उपायबारे विस्तृत छलफल हुने बताइएको छ।
अनुसन्धानलाई प्रभावकारी बनाउन त्रिविले नेपाल प्रहरीलाई समेत पत्राचार गर्दै आवश्यक छानबिनका लागि सहयोग मागेको जनाएको छ।
विश्वविद्यालयले घटनामा संलग्न व्यक्तिको पहिचान गरी आवश्यक कानुनी तथा प्रशासनिक कारबाही अघि बढाइने जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





