सत्य, निष्पक्ष र विश्वसनीय

नारायणी अस्पतालमा बिरामी मृत्यु प्रकरण: उपचारमा संलग्न ५ स्वास्थ्यकर्मी निलम्बनमा

न्युज डेस्क
२०८३ श्रावण १०, आईतवार ०६:४५

वीरगञ्ज, १० साउन
नारायणी अस्पतालमा भएको बिरामीको मृत्यु घटनापछि अस्पताल व्यवस्थापनले छानबिन समिति गठन गर्दै उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ।

निर्णयअनुसार घटनामा दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति गहिरो समवेदना प्रकट गरिएको छ। साथै, घटनाको सत्यतथ्य अध्ययन गरी सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारीसहित छानबिन समिति गठन गरिएको छ।

समितिमा अस्पताल प्रशासन, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, स्थानीय तहका प्रतिनिधि तथा अस्पताल प्रशासनका प्रतिनिधिलाई समेटिएको छ।

त्यसैगरी, घटनाको निष्पक्ष अनुसन्धानका लागि आकस्मिक कक्षमा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई छानबिन प्रतिवेदन नआउञ्जेल जिम्मेवारीबाट हटाई कामकाजमा नलगाउने निर्णय गरिएको छ। प्रतिवेदनको सिफारिसका आधारमा थप कारबाही अघि बढाइने अस्पतालले जनाएको छ।

निर्णयमा मृतकको शवको पोस्टमार्टम गरी प्रचलित कानुनी प्रक्रिया अनुसार अन्त्येष्टि व्यवस्थापन गर्ने तथा नारायणी अस्पतालबाट प्रवाह हुने स्वास्थ्य सेवा नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्ने उल्लेख गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?