नारायणी अस्पतालको छानबिन समितिमा आफ्नो संलग्नता नरहेको निरज सिंहको स्पष्टिकरण
वीरगञ्ज, १० साउन
नारायणी अस्पतालमा हिजो भएको बैठकबाट गठन गरिएको भनिएको छानबिन समितिमा आफ्नो कुनै पनि संलग्नता नरहेको भन्दै निरज सिंहले सार्वजनिक रूपमा स्पष्टिकरण दिएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सिंहले उक्त बैठकमा आफू सहभागी नभएको र बैठकबारे आफूलाई कुनै जानकारीसमेत नदिइएको बताएका छन्। यस्तो अवस्थामा आफ्नो नाममा छानबिन समिति गठन गरिएको जानकारी पाएपछि आफूले त्यसप्रति आपत्ति जनाएको उल्लेख गरेका छन्।
सिंहका अनुसार उनले आज पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्टलाई यस विषयमा औपचारिक जानकारी गराइसकेका छन्। साथै, नेपाल मेडिकल काउन्सिललाई पनि घटनाको निष्पक्ष छानबिन गर्न आग्रह गरिएको उनले बताएका छन्।
उनले सार्वजनिक गरेको भनाइमा, “कुनै पनि निर्णयमा मेरो हस्ताक्षर छैन र मैले कुनै निर्णय गरेको पनि छैन,” भन्दै आफ्नो नाम जोडेर भइरहेका गतिविधिप्रति असहमति जनाएका छन्।
यस घटनापछि नारायणी अस्पतालमा गठन गरिएको भनिएको छानबिन समितिको वैधानिकता तथा प्रक्रियाबारे थप चासो बढेको छ। सम्बन्धित निकायबाट यस विषयमा आधिकारिक धारणा आउन बाँकी रहेको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





