प्रश्न सोध्ने मतदातासँग सांसद केपी खनालको रुखो व्यवहार
काठमाडौं, ११ साउन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद केपी खनाल पुनः विवादमा तानिएका छन्। मतदातासँग रुखो व्यवहार गरेको उनको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनको प्रस्तुतिको व्यापक आलोचना भइरहेको छ।
भाइरल भिडियोमा एक सार्वजनिक कार्यक्रममा आफ्नो भनाइ राखिरहेका सांसद खनाललाई एक सहभागीले प्रश्न गरेपछि उनले आक्रोशित प्रतिक्रिया दिएको देखिन्छ। प्रश्न गर्ने व्यक्तिलाई उनले “कसले भन्यो, प्रमाण छ?” भन्दै प्रमाण प्रस्तुत गर्न चुनौती दिएका छन्। साथै, “हाल्छु, जाक्छु, समातौँ अनि थाहा हुन्छ” भन्ने अभिव्यक्तिसमेत भिडियोमा सुनिन्छ।

त्यसक्रममा कार्यक्रममा उपस्थित केही कार्यकर्ता पनि प्रश्न सोध्ने व्यक्तिप्रति आक्रामक शैलीमा प्रस्तुत भएको भिडियोमा देखिन्छ। त्यसपछि सांसद खनालले पुनः प्रतिक्रिया दिँदै “यस्तो पदलाई लापरबाही गर्ने तपाईं?” भनेका छन्।
भिडियोमा विवादको विषय स्पष्ट खुल्न नसके पनि प्रश्न उठाउने मतदाताप्रति सांसद खनालले प्रयोग गरेको भाषा र व्यवहारलाई लिएर सामाजिक सञ्जालमा व्यापक टिप्पणी भइरहेको छ।
यसअघि पनि सांसद खनालले आफ्नो निर्वाचन क्षेत्रका प्रदेश सांसद तथा स्थानीय तहका जनप्रतिनिधिलाई लक्षित गर्दै दिएको अभिव्यक्ति विवादमा परेको थियो। उनले संघीय सांसदको भूमिका र स्थानीय तथा प्रदेश सरकारको जिम्मेवारीबारे बोल्ने क्रममा जनप्रतिनिधिमाथि हेपाहपूर्ण टिप्पणी गरेको भन्दै आलोचना खेपेका थिए।
सांसद खनालका पछिल्ला र अघिल्ला दुवै भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर भइरहेका छन्। उनको अभिव्यक्ति र प्रस्तुतिको शैलीप्रति विभिन्न क्षेत्रबाट आलोचनात्मक प्रतिक्रिया आइरहेका छन्। यद्यपि, यस विषयमा सांसद खनालको आधिकारिक धारणा भने सार्वजनिक भएको छैन।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





