मोरङमा नाबालिकामाथि सामूहिक जबर्जस्ती करणी आरोपमा पाँच जना पक्राउ
विराटनगर, ११ साउन
मोरङ प्रहरीले एक नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको हो।
प्रहरीका अनुसार साउन २ गते बिहान करिब १० बजे मोरङको सुनवर्षी नगरपालिका–६ की एक नाबालिकालाई सिटी चालक मोहम्मद असमानले रंगेली नगरपालिका–३ स्थित एक स्पामा लगेर जबर्जस्ती करणी गरेका थिए। त्यसपछि सोही स्पाका सञ्चालक सुमनकुमार साहले पनि नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोप छ।


त्यसपछि साउन ४ गते राति करिब ११ बजे पीडितलाई पुनः रंगेली नगरपालिका–७ स्थित ‘द ९०एस’ स्पामा लगेर करण मण्डल, प्रियान्सु साह र रितिक यादवले सामूहिक रूपमा जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ।
घटनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको संयुक्त प्रहरी टोलीले पाँचै जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकामाथि जबर्जस्ती करणीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा रंगेली नगरपालिका–३ का मोहम्मद असमान, सुनवर्षी नगरपालिका–१ का सुमनकुमार साह, रंगेली नगरपालिका–७ का करण मण्डल, प्रियान्सु साह र रितिक यादव रहेका छन्।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





