बिरामीको मृत्युपछि नारायणी अस्पताल घटनाप्रति स्वास्थ्य मन्त्रालयको चासो, छानबिन र कारबाहीको प्रतिबद्धता
काठमाडौं, ११ साउन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नारायणी अस्पताल, वीरगञ्जमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि उत्पन्न घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले घटनाको निष्पक्ष छानबिन गरी स्वास्थ्यकर्मीबाट कुनै कमजोरी भएको पाइए कानुनबमोजिम कारबाही गरिने स्पष्ट पारेको छ।
आइतबार जारी विज्ञप्तिमा मन्त्रालयले बिरामीको जीवन बचाउने क्रममा कुनै लापरबाही भएको भए सत्यतथ्यका आधारमा छानबिन गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइने उल्लेख गरेको छ।

मन्त्रालयले घटनापछि अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणप्रति दुःख व्यक्त गर्दै यस्ता घटनाले स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पर्ने जनाएको छ। स्वास्थ्य सेवा अत्यन्त संवेदनशील क्षेत्र भएकाले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुरक्षित र निर्भय वातावरणमा सेवा प्रदान गर्न दिन सबै पक्षलाई संयमित हुन पनि आग्रह गरिएको छ।
विज्ञप्तिमा दोषीमाथि कानुनी कारबाही सुनिश्चित गर्दै अस्पतालको सेवा नियमित, सुरक्षित र प्रभावकारी बनाउन सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिने उल्लेख छ।
स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा अस्पतालको सेवा सुधार तथा बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सबै पक्षको सहयोग आवश्यक रहेको पनि उल्लेख गरिएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





