सुनसरीमा तनाव: कर्फ्यूबीच आगजनी र तोडफोड, नेपाली सेना परिचालन
विराटनगर, ११ साउन
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज क्षेत्रमा कर्फ्यू जारी रहेकै अवस्थामा आगजनी र तोडफोडका घटना भएपछि नेपाली सेना परिचालन गरिएको छ।
देवानगञ्जमा भएको घटनापछि सुनसरीका विभिन्न स्थानमा प्रदर्शन चर्किएसँगै सुरक्षा अवस्था जटिल बनेको हो। सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार कर्फ्यू लागू भएका क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न नेपाली सेना परिचालन गरिएको हो।

बिहानदेखि कर्फ्यूको अवज्ञा गर्दै सडकमा उत्रिएका प्रदर्शनकारीहरूले टायर बालेर विरोध प्रदर्शन गरेका थिए। नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो संख्यामा परिचालन गरिए पनि बढ्दो भीड नियन्त्रण गर्न कठिन भएपछि नेपाली सेनालाई समेत परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए। बख्तरबन्द गाडीसहित सेनाको टोली कप्तानगञ्ज क्षेत्रमा पुगेको छ।
यसअघि आइतबार राति दुई समुदायबीच तनाव उत्पन्न भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। उक्त घटनामा एक जनाको मृत्यु भएको छ भने प्रहरीसहित २१ जना प्रदर्शनकारी घाइते भएका छन्।
घटनापछि सुनसरीको लौकही, इनरुवा तथा आसपासका क्षेत्रमा समेत प्रदर्शन जारी रहेको छ। कप्तानगञ्ज, देवानगञ्ज र हरिनगर क्षेत्रमा स्थानीयवासी समूह–समूहमा विभाजित भएर कर्फ्यू उल्लंघन गर्दै प्रदर्शनमा उत्रिएका छन्।
सुरक्षा चुनौती बढ्दै गएपछि कोशी प्रदेशका विभिन्न जिल्लाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा दंगा नियन्त्रणका विशेष टोलीहरू सुनसरी झिकाइएको छ। कोशी प्रदेश प्रहरीका प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाका अनुसार अवस्था थप संवेदनशील हुन नदिन अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको छ।
प्रशासनले सर्वसाधारणलाई कर्फ्यूको पूर्ण पालना गर्न तथा अफवाहमा विश्वास नगरी आधिकारिक सूचनामात्र अनुसरण गर्न आग्रह गरेको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





