सत्य, निष्पक्ष र विश्वसनीय

नारायणी अस्पतालका ६५ चिकित्सकको सामूहिक राजीनामा, आन्दोलन थप चर्कियो

न्युज डेस्क
२०८३ श्रावण १२, मंगलवार १३:४४

वीरगन्ज, १२ साउन।
वीरगन्जस्थित नारायणी अस्पतालका ६५ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। अस्पतालमा कार्यरत ७० भन्दा बढी चिकित्सकमध्ये ६५ जनाले अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाएको अस्पतालका प्रवक्ता डा. उदय नारायण सिंहले जानकारी दिए।

गत शनिबार आकस्मिक कक्षमा उपचाररत एक बिरामीको मृत्यु भएपछि अस्पतालमा तोडफोड हुनुका साथै चिकित्सक डा. प्रमोद राममाथि कुटपिट भएको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै चिकित्सकहरू आइतबारदेखि आन्दोलनमा उत्रिएका छन्। आन्दोलनका कारण अस्पतालको नियमित उपचार सेवा प्रभावित हुँदै आएको छ।

सोमबार साँझ पर्सा जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको वार्ताका क्रममा विवाद थप चर्किएको थियो। आन्दोलनरत चिकित्सकहरूले प्रमुख जिल्ला अधिकारी र पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकले पनि राजीनामा दिनुपर्ने माग गरेपछि वार्ताको वातावरण तनावग्रस्त बनेको बताइएको छ।

वार्ता छाडेर बाहिरिन लागेका चिकित्सकहरूलाई एसपी पाठकले धक्कामुक्का गर्दै प्रमुख जिल्ला अधिकारीको कार्यकक्षतर्फ लैजान खोजेको आरोप चिकित्सकहरूको छ। सोही क्रममा चिकित्सक र प्रहरीबीच धकेलाधकेल भएको थियो। उक्त घटनापछि आक्रोशित चिकित्सकहरूले वार्ता बहिष्कार गर्दै जिल्ला प्रशासन कार्यालयबाट बाहिरिएका थिए।

अस्पतालका प्रवक्ता डा. सिंहका अनुसार, प्रहरीको व्यवहारप्रति असन्तुष्टि जनाउँदै सोमबार रातिदेखि मंगलबार दिउँसोसम्म ६५ जना चिकित्सकले सामूहिक रूपमा राजीनामा दिएका हुन्।

चिकित्सकहरूको सामूहिक राजीनामाले नारायणी अस्पतालको स्वास्थ्य सेवा थप प्रभावित हुने देखिएको छ भने घटनाको समाधानका लागि सम्बन्धित पक्षबीच संवाद र सहमतिको आवश्यकता झन् बढेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?