सत्य, निष्पक्ष र विश्वसनीय

वडाध्यक्ष आशुतोष चतुर्वेदी पक्राउ, रिहा नगरे आन्दोलन गर्ने वडाध्यक्षहरूको चेतावनी

न्युज डेस्क
२०८३ श्रावण १२, मंगलवार २१:३९

वीरगन्ज, १२ साउन
पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीलाई मंगलबार अपराह्न पक्राउ गरेको छ। उनलाई वीरगन्ज महानगरपालिकाको कार्यालयबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार साउन ९ गते नारायणी अस्पतालको आकस्मिक उपचार कक्ष (इमर्जेन्सी)मा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको कुटपिट घटनाको अनुसन्धानका लागि चतुर्वेदीलाई नियन्त्रणमा लिइएको हो। घटनाबारे सोधपुछ आवश्यक देखिएकाले नियन्त्रणमा लिइएको र अनुसन्धान जारी रहेकाले आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

यता, चतुर्वेदीको पक्राउप्रति वीरगन्ज महानगरपालिकाका वडाध्यक्षहरूले विरोध जनाएका छन्। मंगलबार साँझ जारी संयुक्त विज्ञप्तिमा जनप्रतिनिधिले जनताको समस्याका विषयमा सम्बन्धित निकायसँग समन्वय गर्नु आफ्नो जिम्मेवारी भएको उल्लेख गर्दै जनताको पक्षमा आवाज उठाएकै आधारमा पक्राउ गर्नु लोकतान्त्रिक मूल्य र मान्यताविपरीत भएको बताएका छन्।

विज्ञप्तिमा चिकित्सकीय लापराहीका कारण वीरगन्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको साउन ९ गते मृत्यु भएको आरोप लगाइएको छ। घटनापछि आक्रोशित आफन्तहरूले नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका थिए। त्यसपछि विवाद समाधानका लागि वडाध्यक्ष चतुर्वेदी अस्पतालदेखि जिल्ला प्रशासन कार्यालयसम्म समन्वय र संवादका लागि पुगेको भए पनि पूर्वाग्रही ढंगले पक्राउ गरिएको आरोप वडाध्यक्षहरूको छ।

वडाध्यक्षहरूले साउन १३ गतेभित्र चतुर्वेदीलाई रिहा नगरे स्थानीय प्रशासनविरुद्ध चरणबद्ध आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन्। उक्त विज्ञप्तिमा वीरगन्ज महानगरपालिकाका ३२ मध्ये २४ जना वडाध्यक्षले हस्ताक्षर गरेका छन्।

उता, प्रहरीले भने अनुसन्धानका क्रममा चतुर्वेदीको नाम आएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जनाएको छ। उनी कुटपिट भएको समयमा घटनास्थलमा उपस्थित थिए वा थिएनन् भन्ने विषयमा भने प्रहरीले कुनै प्रतिक्रिया दिएको छैन।

उल्लेखनीय छ, साउन ९ गते हृदयघात भएपछि राजकुमार पटेललाई नारायणी अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएपछि आफन्तहरूले उपचारमा लापराही भएको आरोप लगाउँदै इमर्जेन्सी कक्षमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए। उक्त घटनामा डा. प्रमोद राम गम्भीर घाइते भएका थिए। प्रारम्भमा उनको उपचार नारायणी अस्पतालको आईसीयूमा गरिएको थियो भने स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको थियो।

चिकित्सकमाथिको आक्रमणमा संलग्न दोषीमाथि कारबाहीको माग गर्दै नेपाल चिकित्सक संघले इमर्जेन्सी सेवा बाहेक देशभरका स्वास्थ्य संस्थामा नियमित सेवा बन्द गरी आन्दोलन जारी राखेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?