सत्य, निष्पक्ष र विश्वसनीय

मिनी ट्रकको फल्स बटमबाट ४५४ किलो गाँजा बरामद, एक पक्राउ

न्युज डेस्क
२०८३ श्रावण १२, मंगलवार २१:५७

महोत्तरी, १२ साउन
लागू औषध नियन्त्रण ब्युरो, शाखा कार्यालय बर्दिबासको प्रहरी टोलीले मिनी ट्रकको फल्स बटममा लुकाएर ओसारपसार गरिँदै गरेको ४५४ किलोग्राम गाँजा बरामद गरेको छ।

ब्युरोका अनुसार सिन्धुलीको भिमानबाट महोत्तरीतर्फ जाँदै गरेको बा ४ ख ५६९२ नम्बरको मिनी ट्रकलाई बर्दिबास नगरपालिका–३ मा शंकाको आधारमा रोकी जाँच गर्दा ट्रकको छतमा बनाइएको फल्स बटमभित्र ६० वटा पोकामा लुकाइएको गाँजा फेला परेको हो।

घटनामा संलग्न रहेको आरोपमा ललितपुरको गोदावरी नगरपालिका–३ निवासी २६ वर्षीय विश्व तामाङलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बर्दिबास, महोत्तरीमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रहरीले बरामद गाँजासहित मिनी ट्रक, चालक अनुमति पत्र, सवारी दर्ता किताब र एक थान मोबाइल समेत नियन्त्रणमा लिएको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?