चार प्रादेशिक अस्पतालले पाए शिक्षण अस्पतालको मान्यता, नारायणी अस्पतालको पालो कहिले? पर्साका जनप्रतिनिधिमाथि बढ्यो प्रश्न
सुदूरपश्चिम, २१ साउन
सुदूरपश्चिम प्रदेश सरकारले सेती, लम्किचुहा, टीकापुर र महाकाली प्रादेशिक अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न स्वीकृति दिएको छ। यस निर्णयसँगै ती अस्पतालमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने बाटो खुलेको छ।
यता मधेश प्रदेशको प्रमुख सरकारी अस्पताल नारायणी अस्पताल भने अझै शिक्षण अस्पतालका रूपमा विकास हुने प्रतीक्षामै छ। आवश्यक पूर्वाधार, जनशक्ति र सम्भावना हुँदाहुँदै पनि यस विषयमा ठोस प्रगति नदेखिएको भन्दै पर्सावासीले चासो व्यक्त गर्न थालेका छन्।
स्थानीयवासीले प्रश्न उठाएका छन्—सुदूरपश्चिममा शिक्षण अस्पताल विस्तारका लागि निर्णय हुन सक्छ भने पर्साको नारायणी अस्पताल किन पछि परिरहेको छ? यस विषयमा पर्साबाट निर्वाचित संघीय तथा प्रदेश सांसदहरूले के पहल गरेका छन्? सम्बन्धित निकायसँग समन्वय र दबाब सिर्जना गर्न उनीहरूको भूमिका कहाँ देखिन्छ?
नारायणी अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्न आवश्यक प्रक्रिया तत्काल अघि बढाउन तथा पर्साका जनप्रतिनिधिले यस विषयमा स्पष्ट धारणा र सक्रिय पहल देखाउन नागरिकले माग गरेका छन्।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





