धनकुटामा ट्रकबाट ६४७ किलो गाँजा बरामद, चालक र सहचालक पक्राउ
धनकुटा, २१ साउन
धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटार चोकस्थित कोशी लोकमार्गमा ट्रकमा लुकाइछिपाई ल्याइएको ६४७ किलोग्राम गाँजासहित दुई जना पक्राउ परेका छन्।
बिहीबार बिहान करिब ५:३० बजे विराटनगरतर्फ जाँदै गरेको ना. ३ ख ५०९५ नम्बरको ट्रकलाई प्रहरीले रोकी चेकजाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारेको हो।
प्रहरीका अनुसार ट्रकभित्र कालो प्लास्टिकमा प्याक गरी लुकाइछिपाई राखिएका ४८ पोका गाँजा बरामद गरिएको थियो। बरामद गाँजाको तौल गर्दा जम्मा ६४७ किलोग्राम रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा ट्रक चालक मकवानपुर जिल्ला कैलाश गाउँपालिका–३ निवासी २७ वर्षीय उमेश थिङ र सहचालक धनकुटा जिल्ला शहिदभूमि गाउँपालिका–१ निवासी ३६ वर्षीय तुलराम राईलाई पक्राउ गरिएको छ।
पक्राउ परेका दुवै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





