खोटाङमा ट्रकबाट १ हजार ३१५ किलो गाँजा बरामद
खोटाङ, २२ साउन
खोटाङमा जंगलमा शंकास्पद अवस्थामा रोकिराखिएको ट्रकबाट प्रहरीले १ हजार ३१५ किलो गाँजा बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार शुक्रबार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७, दोर्पाचिउरी डाँडास्थित मध्यपहाडी लोकमार्गको जंगलमा रोकिराखिएको ट्रक जाँच गर्ने क्रममा ठूलो परिमाणमा गाँजा फेला परेको हो।
प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार प्र.१–०२–००२ ख ००८३ नम्बरको ट्रक शंकास्पद अवस्थामा रोकिराखिएको देखिएपछि प्रहरीले जाँच गरेको थियो। जाँचका क्रममा ट्रकको चालक बस्ने भाग र पछाडिको डालाबीच फल्स बटम बनाएर लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ।
बरामद गाँजा र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





